सिड्नी । अस्ट्रेलियाको पश्चिमी सिड्नीस्थित अर्बनमा कारको ठक्करबाट तीन वर्षीया बालिकाको मृत्यु भएको घटनामा २७ वर्षीय नेपाली युवक सन्दीप अधिकारीविरुद्ध मुद्दा दायर भएको छ ।
लापरवाहीपूर्वक सवारी चलाएर मृत्यु निम्त्याएको आरोपमा अधिकारीलाई पक्राउ गरिएको समाचार संस्था द अस्ट्रेलिया टुडे ले जनाएको छ ।
घटना भएको २४ घण्टा नबित्दै अधिकारीलाई बुधबार बर्वुड स्थानीय अदालतमा उपस्थित गराइएको थियो । अदालतमा उनले आफूमाथि लागेको आरोप स्वीकार वा अस्वीकार गरेका छैनन् ।
अदालतबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरूले प्रश्न गरेपछि अधिकारीसँग केही समर्थक पनि देखिएका थिए । रिपोर्टअनुसार उनले सञ्चारकर्मीबाट जोगिन कागजको पानाले आफ्नो अनुहार छोप्ने प्रयास गरेका थिए ।
अधिकारीका वकिल ड्यानी इडले घटनालाई ‘अत्यन्तै दुःखद’ भएको बताएका छन् । उनका अनुसार अधिकारी घटनापछि निकै तनावमा रहेका छन् र बालिकाको परिवार तथा उनीहरूको अवस्थाबारे चिन्तित छन् ।
अर्बनमा कसरी भयो घटना ?
प्रहरीका अनुसार मंगलबार दिउँसो करिब २ बजेको समयमा अर्बनको नर्मनबी रोडस्थित एक घरको ड्राइभवेमा खेलिरहेकी तीन वर्षीया बालिकालाई कारले ठक्कर दिएको थियो ।
घटनाको जानकारी पाएलगत्तै प्रहरी, एम्बुलेन्ससहितका आपत्कालीन सेवाका टोली घटनास्थल पुगेका थिए । कारको ठक्करबाट गम्भीर घाइते भएकी बालिकालाई तत्काल वेस्टमिड अस्पताल लगिएको थियो । अस्पतालमा उपचारका क्रममा केही घण्टापछि उनको मृत्यु भएको थियो ।
घटनामा कार चालक अधिकारीलाई भने कुनै चोटपटक लागेको थिएन । घटनापछि अनिवार्य परीक्षणका लागि उनलाई अर्बन अस्पताल लगिएको थियो । परीक्षणपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएर अर्बन प्रहरी स्टेसन पुर्याएको थियो ।
प्रहरीले अनुसन्धान अघि बढाउँदै अधिकारीविरुद्ध लापरवाहीपूर्वक सवारी चलाएर मृत्यु निम्त्याएको आरोपमा मुद्दा दायर गरेको हो ।
अधिकारी हाल जमानतमा रहेका छन् । उनलाई आगामी अक्टोबर २७ मा पुनः अदालतमा उपस्थित हुन आदेश दिइएको छ ।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ । अदालतमा मुद्दा विचाराधीन रहेकाले अधिकारीमाथि लागेको आरोप हालसम्म अदालतबाट पुष्टि भएको छैन । अन्तिम निर्णय अदालतको प्रक्रियाबाट हुने भएकाले उनलाई कानुनी रूपमा आरोपित व्यक्तिका रूपमा मात्र बुझ्नुपर्ने हुन्छ ।



