काठमाडौं । चलचित्र ‘पाँच पाण्डव’को दोस्रो ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा अभिनेता हरिवंश आचार्य युधिष्ठिरको भूमिकामा देखिएका छन् ।
सार्वजनिक ट्रेलरमा आफ्ना भाइहरू समस्यामा रहेको भन्दै पृथ्वीलोक आएका युधिष्ठिरले उनीहरू र समाजलाई अन्याय, अत्याचार तथा विकृतिबाट मुक्त गराउन संघर्ष गरेको देखाइएको छ ।
महाभारतको कथालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको चलचित्रमा पाँच भाइको एकता, संघर्ष र विद्रोहलाई मुख्य विषय बनाइएको छ ।
चलचित्रमा हरिवंश आचार्य, महेश त्रिपाठी, जितु नेपाल, विनोद न्यौपाने, आर्यन सिग्देल, सुशील सिटौला, इभा गिरी र दीपाश्री निरौलालगायत कलाकारको अभिनय रहेको छ ।
काली रानी फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रलाई वसन्त निरौलाले निर्देशन गरेका हुन् । नवीन श्रेष्ठ प्रस्तुतकर्ता रहेको चलचित्रको कथा, पटकथा तथा संवाद सुशील पौडेलले लेखेका छन् ।
चलचित्र यही कात्तिक २० गतेदेखि प्रदर्शनमा आउनेछ ।



