कर्णाली। कर्णाली प्रदेशले गत आर्थिक वर्षमा जडीबुटी निकासीबाट चार करोड रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ।
कर्णाली प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका अनुसार ५८ प्रजातिका जडीबुटी बिक्री तथा निकासीबाट कुल ४ करोड १७ लाख ६८ हजार ९९९ रुपैयाँ राजस्व संकलन भएको हो।
मन्त्रालयका सूचना अधिकारी महेश नेपालीका अनुसार प्रतिकेजी ५० रुपैयाँ राजस्व दर रहेको झ्याउ १ लाख ८१ हजार ६०९ केजी निकासी हुँदा ९५ लाख ८५ हजार ४०० रुपैयाँ राजस्व संकलन भएको छ।
त्यस्तै, ७५ रुपैयाँ प्रतिकेजी राजस्व दर रहेको जटामसी ९६ हजार ७९२ केजी निकासीबाट ८७ लाख ८८ हजार ८७५ रुपैयाँ संकलन भएको छ। यार्सागुम्बाबाट ७५ लाख ४४ हजार ३७१ रुपैयाँ राजस्व प्राप्त भएको छ। प्रतिकेजी ३१ हजार रुपैयाँ राजस्व दर रहेको यार्सागुम्बा २५१ किलो ६५६ ग्राम बिक्री भएको मन्त्रालयले जनाएको छ।
यसैगरी, कटुसीबाट २३ लाख ८१ हजार ६८० रुपैयाँ, सेतक चिनीबाट २० लाख ४६ हजार ५७५ रुपैयाँ र टिमुरबाट १९ लाख ३९ हजार ४०० रुपैयाँ राजस्व संकलन भएको छ।
सिलाजितबाट ९ लाख ७७ हजार ८५० रुपैयाँ, सुगन्धवालबाट ९ लाख ५० हजार ५८० रुपैयाँ र रिठ्ठाबाट ९ लाख ४७ हजार ८३८ रुपैयाँ राजस्व प्राप्त भएको सूचना अधिकारी नेपालीले जानकारी दिए।
मन्त्रालयका अनुसार उक्त आर्थिक वर्षमा कुल २१ लाख ५८ हजार ५८२ दशमलव ९४५ केजी जडीबुटी संकलन गरिएकोमा १९ लाख ४६ हजार ८७५ दशमलव ७०५ केजी जडीबुटी कर्णालीबाट निकासी भएको छ।



