१२ कात्तिक, काठमाडौं । अमेरिका र इरानबीच सम्भावित सैन्य टकरावको जोखिम बढिरहेका बेला अमेरिकी उपराष्ट्रपति जेडी भान्सले इरानका राष्ट्रिय सुरक्षा प्रमुख मोहसेन रेजाइलाई कूटनीतिक पत्र पठाएका छन्। पत्रमार्फत भान्सले इरानमाथि सम्भावित अमेरिकी सैन्य कारबाही रोक्न गरिने वार्तामा परमाणु मुद्दामाथिको छलफल अनिवार्य हुनुपर्ने सर्त राखेका छन्।
अमेरिकी अधिकारीहरूका अनुसार भान्सले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई इरानी राष्ट्रिय सुरक्षा प्रमुख रेजाइलाई पत्र पठाउने प्रस्ताव गरेका थिए। रेजाइ इरानका प्रभावशाली सुरक्षा रणनीतिकार मानिन्छन् र सर्वोच्च नेता मोज्तबा खामेनेइसँग प्रत्यक्ष सम्पर्कमा रहने बताइएको छ।
पत्र पठाइएको मिति सार्वजनिक नगरिए पनि राष्ट्रपति ट्रम्प यस विषयमा उत्साहित रहेको एक अमेरिकी अधिकारीले बताएका छन्। यसबारे पहिलोपटक ‘द वाल स्ट्रिट जर्नल’ले समाचार प्रकाशित गरेको थियो।
अमेरिका र इरानबीच कूटनीतिक वार्ता पुनः सुरु गर्ने प्रयास भइरहे पनि दुवै पक्षका सर्तका कारण सहमति जुट्न कठिन देखिएको छ। इरानले वार्तामा बस्नुअघि अमेरिकाले लगाएको नौसैनिक नाकाबन्दी हटाउनुपर्ने, रोक्का राखिएका इरानी कोष फुकुवा गर्नुपर्ने र तेल बिक्रीमा लगाइएको अवरोध हटाउनुपर्ने माग गरेको छ।
तर अमेरिकाले प्रतिबन्धमा कुनै छुट दिनुअघि इरान परमाणु वार्तामा फर्किनुपर्ने अडान राखेको छ। यसले दुई देशबीचको वार्तामा परमाणु कार्यक्रम प्रमुख मुद्दा बन्ने संकेत गरेको छ।
यसैबीच, राष्ट्रपति ट्रम्पले बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै भान्सको पत्र इरानी जनतालाई आवश्यक औषधि तथा स्वास्थ्य सामग्री उपलब्ध गराउने विषयसँग सम्बन्धित रहेको दाबी गरेका छन्। उनले पत्रको उद्देश्य बिरामी तथा स्वास्थ्य समस्या भएका इरानी नागरिकलाई सहयोग पुर्याउनु रहेको बताएका छन्।
अमेरिका र इरानबीच बढ्दो तनावका बीच आएको यो पत्रले कूटनीतिक वार्ताको सम्भावना कति अघि बढाउँछ भन्ने विषय भने अझै स्पष्ट भइसकेको छैन।
इरानलाई भान्सको पत्र, के छन् अमेरिकाका सर्त?
इरानलाई भान्सको पत्र, के छन् अमेरिकाका सर्त?
तपाईको प्रतिक्रिया



