काठमाडौं । बिचौलिया इनम सापकोटासँग न्यायाधीशहरूको भेटघाट सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र महाभियोगको पक्षमा बलियो मत देखिएको छ ।
पार्टीका अधिकांश सांसद विवादमा जोडिएका न्यायाधीशमाथि महाभियोग लगाउनुपर्ने पक्षमा रहे पनि यसबारे अन्तिम निर्णय भने भएको छैन ।
रास्वपा महामन्त्री विपिन आचार्यले महाभियोगबारे निर्णय गर्ने अधिकार संसदीय दललाई रहेको बताएका छन् । संसदीय दलको बैठकले निर्णय गरेपछि मात्रै अन्य दलसँग सहयोग माग्ने विषय अघि बढ्ने उनको भनाइ छ ।
यता, कानुन व्यवसायी पृष्ठभूमिका केही सांसदले महाभियोग अघि बढाउनुअघि आवश्यक दुईतिहाइ मत सुनिश्चित गर्न र सम्भावित कानुनी जटिलताबारे विचार गर्न सुझाव दिएका छन् ।
रास्वपाले वरिष्ठ अधिवक्ताहरूसँग परामर्श गर्ने तयारी गरे पनि शनिबारको सचिवालय बैठकका कारण छलफल रोकिएको थियो । अहिले पार्टी संसदीय दलको निर्णयको प्रतीक्षामा छ ।



