काठमाडौं । भारतको ‘कक्रोच जनता पार्टी’ (सीजेपी) का संस्थापक अभिजीत दीपकेको सम्पत्ति, चन्दा संकलन र राजनीतिक गतिविधिमाथि छानबिन गर्न माग गर्दै भारतका तीन सरकारी निकायमा उजुरी परेको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार गुजरातका आरटीआई कार्यकर्ता अमित तिवारीले महाराष्ट्र सरकार, भारतको निर्वाचन आयोग र केन्द्रीय अप्रत्यक्ष कर तथा सीमा शुल्क बोर्ड (सीबीआईसी) मा छुट्टाछुट्टै उजुरी दर्ता गराएका हुन्।
उजुरीमा दीपकेको परिवारको आयस्रोत र सम्पत्तिको निष्पक्ष छानबिन गर्न, सीजेपी निर्वाचन आयोगमा दर्ता नभई राजनीतिक गतिविधि सञ्चालन तथा चन्दा संकलन गरिरहेको भए कानुनअनुसार कारबाही गर्न माग गरिएको छ। साथै, राज्यसभा सांसद कपिल सिब्बलबाट पार्टीलाई प्राप्त हुने भनिएको एक करोड भारतीय रुपैयाँको फन्डिङ र त्यससँग सम्बन्धित करसम्बन्धी विषयको पनि अनुसन्धान गर्न आग्रह गरिएको छ।
त्यसैगरी, सीजेपीले नेतृत्व गरेको आन्दोलनका क्रममा प्रधानमन्त्री नरेन्द्र मोदी तथा अन्य नेताविरुद्ध कथित रूपमा अभद्र टिप्पणी गरेको आरोपसमेत उजुरीमा समावेश गरिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।


