काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले नेपालमा जलनका बिरामीले समयमै गुणस्तरीय उपचार पाउने सुनिश्चित गर्न उपचार प्रणालीलाई थप व्यवस्थित, प्रभावकारी र वैज्ञानिक बनाउने तयारी सुरु गरिएको बताएकी छन्। यसका लागि उपचार मापदण्ड (स्ट्यान्डर्ड ट्रिटमेन्ट प्रोटोकल–एसटीपी) लागू गर्ने, स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि गर्ने तथा विशेषज्ञ संस्थासँगको सहकार्यलाई सुदृढ बनाउने विषयमा मन्त्रालयले छलफल अघि बढाएको छ।
बिहीबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा आयोजित छलफलमा नेपाल क्लेफ्ट एन्ड बर्न सेन्टर, कीर्तिपुरका डा. किरण नकर्मी, डा. शंकरमान राई तथा जलन अभियन्ता उज्ज्वल थापासँग मुलुकमा जलन उपचार सेवाको वर्तमान अवस्था, चुनौती र सुधारका उपायबारे विस्तृत विचार–विमर्श भएको मन्त्रालयले जनाएको छ।
छलफलका क्रममा जलनका बिरामीको उपचारमा प्रारम्भिक चरणको व्यवस्थापन सबैभन्दा महत्वपूर्ण हुने निष्कर्ष निकाल्दै प्राथमिक उपचारसम्बन्धी ज्ञान र सीप देशभरका स्वास्थ्यकर्मीमा विस्तार गर्नुपर्नेमा जोड दिइएको थियो। स्थानीय स्वास्थ्य संस्था, एम्बुलेन्स सेवा, जिल्ला अस्पताल, प्रदेश अस्पताल तथा संघीय अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई जलन व्यवस्थापनसम्बन्धी विशेष तालिम सञ्चालन गर्ने विषयमा समेत सहमति जुटाउने प्रयास गरिएको मन्त्रालयले जनाएको छ।
जलन उपचारमा देशभर एउटै मापदण्ड लागू गरी सेवा प्रवाहलाई एकरूप, गुणस्तरीय र वैज्ञानिक बनाउने उद्देश्यले स्ट्यान्डर्ड ट्रिटमेन्ट प्रोटोकल (एसटीपी) तयार गरी सबै तहका स्वास्थ्य संस्थामा कार्यान्वयन गर्ने विषय पनि छलफलको मुख्य एजेन्डा बनेको थियो।
यस्तै, स्थानीय, प्रदेश र संघीय तहबीच जलन उपचार सेवाको स्पष्ट रेफरल प्रणाली विकास गर्ने, जटिल अवस्थाका बिरामीलाई समयमै उपयुक्त अस्पतालमा पठाउने व्यवस्था थप प्रभावकारी बनाउने, उपचार सेवाको पहुँच विस्तार गर्ने तथा बिरामीले गुणस्तरीय सेवा सहज रूपमा प्राप्त गर्ने वातावरण तयार गर्ने विषयमा पनि विस्तृत छलफल भएको मन्त्रालयले जनाएको छ।
मन्त्री मेहताले जलन उपचारलाई राष्ट्रिय स्वास्थ्य सेवाको प्राथमिकतामा राखेर आवश्यक नीतिगत तथा संरचनागत सुधार अघि बढाइने स्पष्ट पारिन्। उनले प्रारम्भिक उपचारदेखि विशेषज्ञ सेवासम्म बिरामीको सहज पहुँच सुनिश्चित गर्ने प्रणाली विकास मन्त्रालयको प्राथमिकतामा रहेको उल्लेख गर्दै यस क्षेत्रमा अनुभव हासिल गरेका विशेषज्ञ संस्था, चिकित्सक तथा अभियन्तासँगको सहकार्यलाई थप प्रभावकारी बनाइने बताइन्।
छलफलमा जलनबाट बच्ने उपायबारे जनचेतना अभिवृद्धि, उपचार सेवाको गुणस्तर सुधार, स्वास्थ्यकर्मीको दक्षता विकास, उपचारसम्बन्धी मापदण्डको प्रभावकारी कार्यान्वयन तथा नेपाल क्लेफ्ट एन्ड बर्न सेन्टर, कीर्तिपुरले हासिल गरेको विशेषज्ञ अनुभवलाई राष्ट्रिय स्वास्थ्य प्रणालीमा विस्तार गर्ने विषयमा पनि विशेष जोड दिइएको थियो।
मन्त्रालयका अनुसार आगामी दिनमा जलन उपचार सेवालाई अझ प्रभावकारी बनाउन आवश्यक नीतिगत सुधार, स्वास्थ्य संस्थाबीच समन्वय विस्तार, दक्ष जनशक्ति उत्पादन तथा उपचार प्रणालीलाई आधुनिक र व्यवस्थित बनाउने दिशामा थप पहल गरिनेछ।


