चितवन । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेललाई चितवन भ्रमणका क्रममा संयुक्त विद्यार्थी संगठनले कालोझण्डा देखाउँदै विरोध प्रदर्शन गरेका छन्।
केही दिनदेखि चितवनमा रहेका मन्त्री पोखरेलले विभिन्न विद्यालयको अनुगमन, शैक्षिक कार्यक्रम तथा सरोकारवालासँग भेटघाट गरिरहेका बेला विद्यार्थीहरूले कालोझण्डा प्रदर्शन गरेका हुन्।
प्रदर्शनका क्रममा विद्यार्थीहरूले “नेपो बेबी” लगायतका नाराबाजी गर्दै सरकारले शिक्षा क्षेत्रमा लगाएको कर तत्काल खारेज गर्न माग गरेका थिए। उनीहरूले पछिल्ला शैक्षिक नीतिहरू विद्यार्थी र अभिभावकमैत्री नभएको आरोपसमेत लगाए।
प्रदर्शनका कारण केहीबेर कार्यक्रमस्थलको वातावरण तनावग्रस्त बने पनि सुरक्षा निकायको उपस्थितिमा अवस्था सामान्य बनेको थियो। प्रदर्शनकारीहरूले सरकारले शिक्षा क्षेत्रमा थपिएको कर फिर्ता लिनुका साथै सरोकारवालासँग पर्याप्त छलफल गरेर मात्रै नीति लागू गर्नुपर्ने माग गरेका छन्।
पछिल्लो समय सरकारले शिक्षा तथा शैक्षिक सेवासँग सम्बन्धित नीतिहरू लागू गरेपछि विद्यार्थी संगठन, शैक्षिक संस्थाहरू र सरोकारवालाले विभिन्न ठाउँमा विरोध प्रदर्शन गर्दै आएका छन्। चितवनमा भएको यो प्रदर्शन पनि सोही आन्दोलनको निरन्तरता भएको विद्यार्थी नेताहरूले बताएका छन्।
भिडियो स्रोत : https://www.facebook.com/reel/4295410457436324


