काठमाडौं । नेपाली कांग्रेसको देउवा समूहले नेपाल लोकतान्त्रिक खेलकुद संघको अध्यक्षमा चितवनका सुवोध प्रधानलाई मनोनीत गरेको छ ।
देउवा समूहको १५औँ नियमित महाधिवेशन तयारी समितिका संयोजक डा. शशांक कोइरालाले प्रधानलाई अध्यक्षमा मनोनीत गरेका हुन् । उनलाई आगामी छ महिनाभित्र संघको अधिवेशन सम्पन्न गर्ने जिम्मेवारीसमेत दिइएको कोइरालाको सचिवालयले जनाएको छ ।
कराते तथा किक बक्सिङ खेलसँग आबद्ध प्रधान यसअघि संघको महासचिव रहिसकेका छन् । उनी कांग्रेसका महासमिति सदस्यसमेत हुन् ।
देउवा समूहले यसअघि नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल र नेपाल दलित संघमा पनि समानान्तर नेतृत्व मनोनीत गरिसकेको छ ।



