काठमाडौं । सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशविरुद्ध परेका उजुरीमाथि संसदीय सुनुवाइ समितिले आज छलफल गर्दैछ ।
समितिको बैठक बिहान ९ः३० बजे सार्वजनिक लेखा समितिको सभाकक्षमा बस्दैछ । बैठकमा प्रस्तावित न्यायाधीश डा. रत्नबहादुर बागचन्द र चन्द्रबहादुर सारूविरुद्ध उजुरी दिने उजुरीकर्तासँग छलफल गर्ने कार्यसूची रहेको संसद् सचिवालयका सहसचिव लक्ष्मीप्रसाद गौतमले जानकारी दिए ।प्रस्तावित चार न्यायाधीशविरुद्ध पाँचवटा संयुक्त र आठवटा व्यक्तिगत गरी कुल १३ वटा उजुरी परेका छन् ।
गत असोज २० गते न्याय परिषद्ले उच्च अदालतका मुख्य न्यायाधीश रत्नबहादुर बागचन्दसहित चन्द्रबहादुर सारू, जनक पाण्डे र गोकर्ण डाँगीलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको थियो ।
समितिले उजुरीकर्तासँगको छलफलपछि प्रस्तावित न्यायाधीशहरूको संसदीय सुनुवाइ प्रक्रिया अघि बढाउनेछ ।



