राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नारायणी नदीको कटानबाट बजार क्षेत्र र नागरिकको सुरक्षा गर्नु पहिलो प्राथमिकता भएको बताएका छन् ।
नदी कटान प्रभावित क्षेत्रको निरीक्षणपछि उद्योग वाणिज्य संघ चितवनमा आयोजित छलफलमा उनले तत्काल र दीर्घकालीन योजना बनाएर समस्या समाधान गर्नुपर्ने बताए ।
‘जनता जोगाउन बजेट दोस्रो कुरा हो । जनतालाई कसरी जोगाउन सकिन्छ भन्ने पहिलो प्राथमिकता हो,’ उनले भने ।
लामिछानेले जोखिम न्यूनीकरणका लागि अध्ययन टोली परिचालन भइसकेको जानकारी दिँदै आवश्यक योजनाका लागि स्रोत सुनिश्चित गर्न पहल गर्ने प्रतिबद्धता जनाए ।
प्राविधिक अध्ययनले आवश्यक देखाए बजार क्षेत्र स्थानान्तरण गर्न सकिने उल्लेख गर्दै उनले त्यसका लागि सबै सरोकारवालाको सहमति आवश्यक रहेको बताए ।
आफ्नो निर्वाचन क्षेत्र भएकै कारण चितवनलाई विशेष प्राथमिकता नदिने स्पष्ट पार्दै उनले देशका सबै प्रभावित क्षेत्रका समस्या आवश्यकताका आधारमा सम्बोधन हुनुपर्ने धारणा राखे ।
यसअघि उनले नारायणी नदी कटान प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरेका थिए ।



