१९ कात्तिक, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साह र नेपालका लागि अष्ट्रेलियाका राजदूत सिमोन अर्नस्टबीच शिष्टाचार भेटवार्ता भएको छ ।
बिहीबार भएको भेटमा नेपाल–अष्ट्रेलियाबीचको द्विपक्षीय सम्बन्ध, व्यापार तथा आर्थिक सहकार्य, लगानी प्रवर्द्धन र आपसी सहयोगका विविध विषयमा छलफल भएको मन्त्री साहको सचिवालयले जनाएको छ ।
भेटका क्रममा मन्त्री साहले भोटेकोशी तथा बूढीगण्डकी बाढीपछि खोज, उद्धार र राहतका क्षेत्रमा नेपाललाई अष्ट्रेलिया सरकारले गरेको मानवीय सहयोग, सद्भाव र समर्थनप्रति धन्यवाद व्यक्त गरे ।
दुवै पक्षले नेपाल र अष्ट्रेलियाबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप प्रगाढ बनाउँदै आर्थिक तथा व्यापारिक सहकार्यका नयाँ सम्भावना अघि बढाउने विषयमा समेत छलफल गरेका छन् ।



