१७ कात्तिक, सुर्खेत । डोल्पाको माथिल्लो क्षेत्रमा भारी हिमपातका कारण अलपत्र परेका ६ जना भारतीय पर्यटकको सोमबार बिहान हेलिकप्टरमार्फत सकुशल उद्धार गरिएको छ ।
गत १४ कात्तिकदेखि हिमपातका कारण सम्पर्कविहीन भएका दुई महिला र चार पुरुष गरी ६ जना पर्यटकलाई उद्धार गरी सुरक्षित स्थानमा ल्याइएको हो ।
सोमबार बिहान साढे ६ बजे उडेको हेलिकप्टरले सुरुमा दुई महिलालाई उद्धार गरी जिल्ला सदरमुकाम दुनै ल्याएको थियो । त्यसपछि पुनः घटनास्थल पुगेको हेलिकप्टरले बाँकी चार पुरुषको पनि सकुशल उद्धार गरेको हो ।
डोल्पाका प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालले सबै पर्यटकको सकुशल उद्धार गरिएको र उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिइन् ।
जिल्ला प्रशासन कार्यालय डोल्पामा १४ कात्तिकमा पर्यटक हिमपातका कारण फसेको सूचना प्राप्त भएको थियो । त्यसलगत्तै उद्धारको पहल गरिए पनि प्रतिकूल मौसम र हेलिकप्टर व्यवस्थापनमा समस्या आउँदा उद्धारमा ढिलाइ भएको थियो ।
प्रशासनका अनुसार भारतीय पर्यटक आवश्यक प्रशासनिक अनुमति नलिई माथिल्लो डोल्पा पुगेका थिए । उनीहरू डोल्पोबुद्ध गाउँपालिकाको धो क्षेत्रबाट शे–फोक्सुण्डो गाउँपालिका–८ स्थित फोक्सुण्डो तालतर्फ फर्कने क्रममा नुमला र वाग्ला पास आसपासको क्षेत्रमा हिमपातमा परेका थिए ।
मौसम प्रतिकूल रहेको र भारी हिमपातको जोखिम भएकाले प्रशासन तथा स्थानीयवासीले हिमाली क्षेत्रमा यात्रा नगर्न सुझाव दिएका थिए । तर, आवश्यक अनुमति नलिई जोखिमपूर्ण मार्गबाट यात्रा गर्दा उनीहरू समस्यामा परेका थिए ।
डोल्पामा उद्धार टोलीको सक्रियता, हिमपातमा फसेका ६ भारतीय पर्यटक सुरक्षित
डोल्पामा उद्धार टोलीको सक्रियता, हिमपातमा फसेका ६ भारतीय पर्यटक सुरक्षित
तपाईको प्रतिक्रिया



