काठमाडौं । निर्देशक तथा लेखक उपेन्द्र सुब्बाले नयाँ फिल्म ‘बखत्ते’ निर्देशन गर्ने भएका छन्। आन्भी फिल्म्सको प्रस्तुति तथा कबड्डी फिल्म्सको सहकार्यमा निर्माण हुने फिल्मको शुक्रबार ललितपुरस्थित महालक्ष्मी मन्दिर परिसरमा शुभमुहूर्त गरिएको छ।
फिल्मको कथा तथा पटकथा लेखनसमेत उपेन्द्र सुब्बाकै रहेको छ। ‘जारी २’ पछि सुब्बा ‘बखत्ते’मार्फत निर्देशनमा फर्किन लागेका हुन्।
फिल्ममा विपिन कार्की र मिरूना मगर मुख्य भूमिकामा देखिनेछन्। उनीहरूसँगै शिशिर बाङ्देल, मिस्री थापा, अनुराग कुँवर, अनिल सुब्बा, विनोद न्यौपाने, शारदा गिरी, उषा किरण अधिकारी, सुगम दुलाल, सहिष्मा खड्का, अनिशा काफ्ले र बालकलाकार रिन्जेन लामालगायत कलाकारको अभिनय रहनेछ।
निर्देशक सुब्बाले ‘बखत्ते’लाई लामो समय लिएर निर्देशन गर्ने तयारी रहेको बताए। उनले आफूले इमानदार भएर कथा लेखेकाले त्यसैअनुसार फिल्म निर्माण गर्ने र दर्शकले पनि कथा रुचाउने विश्वास व्यक्त गरे।
फिल्मका निर्माता आशिष तामाङ र प्रदीपजी धामी छन् भने युवराज काफ्ले कार्यकारी निर्माता तथा अञ्जु पाण्डे र पुष्कर घिमिरे सह–निर्माताका रूपमा रहेका छन्।
फिल्मको छायांकन पुरुषोत्तम प्रधानले गर्नेछन् भने निमेष श्रेष्ठले सम्पादन गर्नेछन्। उत्तम न्यौपाने साउन्ड डिजाइनमा रहनेछन्। फिल्ममा सुशान्त गौतम, प्रशान्त सिवाकोटी र समीर खरेलको संगीत रहने निर्माण पक्षले जनाएको छ।
‘बखत्ते’को काठमाडौंमा एप्पल इन्टरटेनमेन्ट र काठमाडौं बाहिर कुबेर सिने डिस्ट्रिब्युसन्सले वितरण गर्नेछन्।
विपिन र मिरूनालाई लिएर उपेन्द्र सुब्बाले बनाए ‘बखत्ते’
विपिन र मिरूनालाई लिएर उपेन्द्र सुब्बाले बनाए ‘बखत्ते’
तपाईको प्रतिक्रिया



