५ असोज, झापा । झापामा जापानिज इन्सेफलाइटिस (जेई) अर्थात् मस्तिष्क ज्वरोविरुद्ध आजदेखि खोप अभियान सुरु हुँदैछ।
स्वास्थ्य कार्यालय झापाका अनुसार असोज ५ देखि १५ गतेसम्म जिल्लाका १५ वटै स्थानीय तहमा अभियान सञ्चालन हुनेछ। अभियानअन्तर्गत ३० वर्षमाथिका चार लाख ८५ हजार ५५ जनालाई खोप लगाउने लक्ष्य राखिएको छ। त्यसका लागि पाँच लाख ७० हजार डोज खोप प्राप्त भइसकेको कार्यालयले जनाएको छ।
अभियानलाई प्रभावकारी बनाउन जिल्लाका १३१ वडामा ९०० खोप केन्द्र स्थापना गरिएको छ। खोप अभियानमा करिब ५०० स्वास्थ्यकर्मी, ६११ महिला स्वास्थ्य स्वयंसेविका र तीन हजारभन्दा बढी स्वयंसेवक परिचालन हुने स्वास्थ्य कार्यालय झापाका प्रमुख वृजकुमार दासले जानकारी दिए।
झापामा पछिल्लो समय जेई संक्रमण र मृत्युदर बढ्दै गएपछि उच्च सतर्कतासहित खोप अभियान सञ्चालन गर्न लागिएको दासले बताए। उनका अनुसार जिल्लामा हालसम्म १३ जनामा जेई संक्रमण पुष्टि भएकोमा सात जनाको मृत्यु भएको छ। मृत्यु भएका सबैले जेईविरुद्धको खोप नलगाएको पाइएको उनले जानकारी दिए।
‘लक्षित समूहका कोही पनि नागरिक खोपबाट नछुटून् भनेर स्थानीय तह र स्वास्थ्य संस्थासँग समन्वय गरी आवश्यक तयारी पूरा गरेका छौँ,’ दासले भने, ‘खोप सुरक्षित भएकाले लक्षित समूहका नागरिकले अभियानमा सहभागी भएर खोप लगाउन आवश्यक छ।’
स्वास्थ्य कार्यालयका अनुसार गर्भवती, यसअघि खोप लगाउँदा गम्भीर एलर्जी (एनाफिलेक्सिस) देखिएका व्यक्ति तथा खोपका कुनै तत्वबाट गम्भीर एलर्जी भएका व्यक्तिले जेईविरुद्धको खोप लगाउनु हुँदैन। त्यस्तै, ज्वरो आएको अवस्थामा खोप नलगाई ज्वरो निको भएपछि खोप लगाउन सकिने जनाइएको छ।
जेई क्युलेक्स जातको लामखुट्टेको टोकाइबाट सर्ने भाइरसजन्य रोग हो। संक्रमित चराचुरुङ्गी तथा सुँगुरलाई टोकेको लामखुट्टेले मानिसलाई टोक्दा मानिसमा जेई संक्रमण सर्न सक्छ।
जापानिज इन्सेफलाइटिस रोकथामका लागि झापामा आजदेखि खोप
जापानिज इन्सेफलाइटिस रोकथामका लागि झापामा आजदेखि खोप
तपाईको प्रतिक्रिया



