पछिल्लो समय खाना खाने थाल/प्लेटमा दिइने खाना हेर्दा खानाको औसत मात्रा बढेको देखिन्छ । मानिसहरूले सामान्यतया कति खाना खाँदा पर्याप्त हुन्छ ? खाना खाँदा उनीहरूले कति खान्छन् भन्ने कुरा धेरै कुरामा निर्भर गर्दछ। हामीले खाने खानाको मात्रा हामीले खाएको प्लेट वा थाली कति ठूलो छ भन्ने कुरामा पनि निर्भर गर्दछ ।
यस बाहेक, यदि हामीलाई खाना खाँदा बढी खाना दिइयो भने यो पनि हाम्रो अत्यधिक खानुको पछाडिको कारण हो ।
धेरै अनुसन्धानकर्ताहरूले हामी कुन परिस्थितिमा अत्यधिक खान्छौं र यसले हाम्रो स्वास्थ्यमा कस्तो प्रभाव पार्छ भनेर अध्ययन गरेका छन् ।
लिड्स विश्वविद्यालयका भोक र ऊर्जा सन्तुलनका प्राध्यापक जेम्स स्टब्स भन्छन्, ‘जब मानिसहरूले आवश्यकताभन्दा बढी खान्छन्, उनीहरूलाई स्वास्थ्यको लागि हानिकारक चिजहरू खाने बानी विकास हुने जोखिम हुन्छ । यस्तो खाना धेरै मात्रामा खाँदा नराम्रो परिणाम हुन सक्छ ।’
हाम्रो अत्यधिक खानुको कारण के हो भन्ने कुरा अझै स्पष्ट छैन । तर, आकर्षक मार्केटिङ र खाद्य वस्तुहरूको प्रस्ताव, पहिले नै प्याक गरिएको खानामा हाम्रो निर्भरता यसको कारण हुन सक्छ ।
यसबाहेक, रेस्टुरेन्टहरूबाट ‘पैसाको मूल्य’ सम्बन्धी खानाको प्रस्ताव र ठूला प्लेटमा खाना पस्कने कुराले पनि हामीलाई धेरै खान बाध्य बनाउँछ ।
ब्रिटिश डाइटेटिक एसोसिएसनका प्रवक्ता र खाद्य विशेषज्ञ क्लेयर थोर्नटन-वुड भन्छिन्, ‘१९७० को दशकमा औसत प्लेट २२ सेन्टिमिटर थियो । अहिले यो २८ सेन्टिमिटर भएको छ । यसको अर्थ हाम्रो खाना पनि बढेको छ । यसबाहेक, रेस्टुरेन्टहरूले पनि धेरै खाना पस्किरहेका छन् । मानिसहरू घरमा पनि त्यस्तै गर्नुपर्छ कि भनेर भ्रमित छन् ।’
हामीले कति खाना खानुपर्छ भन्ने कुरा धेरै कुराहरूमा निर्भर गर्दछ, जस्तै हाम्रो उमेर, लिङ्ग, तौल, उचाइ, शारीरिक गतिविधि आदि ।
यदि तपाईं कडा परिश्रम गर्नुहुन्छ वा खेलाडी हुनुहुन्छ भने तपाईंलाई बढी खाना चाहिन्छ र यदि तपाईं अफिसमा बसेर काम गर्नुहुन्छ, अर्थात् तपाईंको शारीरिक गतिविधि धेरै छैन भने तपाईंलाई कम खाना चाहिन्छ ।
वुडका अनुसार, यो तपाईं कतिपटक खानुहुन्छ र दिनभरि के खानुहुन्छ भन्ने कुरामा पनि निर्भर गर्दछ । उनी भन्छिन्, ‘हामीले कति खानुपर्छ भनेर बुझ्ने एउटा सजिलो तरिका छ । वास्तवमा हामी हाम्रो हत्केलाबाट थाहा पाउन सक्छौं । तपाईंको हत्केला बराबरको मासु, तपाईंको हात बराबरको कुखुरा वा माछा, दुवै हत्केला (कप गरिएको हात) जोडेर जति तरकारी खान सक्नुहुन्छ, त्यति नै तपाईंको लागि पर्याप्त छ ।’
यसबाहेक, उनी दिनभरि एक मुठ्ठी कार्बोहाइड्रेट (आलु, भात, पास्ता आदि) र एक मुठ्ठी फलफूल खाने सल्लाह दिन्छिन्।
स्टब्स भन्छिन्, ‘स्वस्थ महिलालाई हरेक दिन लगभग दुई हजार क्यालोरी चाहिन्छ र पुरुषलाई लगभग साढे दुई हजार क्यालोरी चाहिन्छ र उनीहरूको खानाको मात्रा यसै आधारमा निर्धारण गरिन्छ । प्रत्येक व्यक्ति फरक हुन्छ, त्यसैले खानाको औसत मात्रा सबैको आवश्यकताको लागि उपयुक्त हुँदैन । तर यदि मानिसहरूले आवश्यकता भन्दा बढी खाए भने, यो समस्या बन्न सक्छ ।’
धेरै मानिसहरूले बुझ्दैनन् कि सबैलाई समान मात्रामा खाना आवश्यक पर्दैन । उदाहरणका लागि, यदि कुनै परिवारलाई खाना दिइँदै छ भने, सबैलाई एउटै मात्रामा खाना दिइनु आवश्यक छैन, तर उनीहरूको आवश्यकता अनुसार खाना खुवाउनु पर्छ ।
यसबाहेक, खानाको मात्रा नाप्न चम्चा प्रयोग गर्नु सही तरिका हुन सक्छ । स्वास्थ्यका लागि राम्रो आहार तपाईंले कति खानुहुन्छ भन्ने कुरामा मात्र निर्भर गर्दैन, तर तपाईंले के खानुहुन्छ भन्ने कुरामा पनि निर्भर गर्दछ ।
वुड भन्छिन्, ‘प्रोटिन वा फाइबरले भरिपूर्ण खाना खाँदा तपाईंलाई लामो समयसम्म पेट भरिएको महसुस हुन्छ । सिमी र तरकारी भएको सुप पनि धेरै राम्रो हुन्छ, किनभने यस्ता चिजहरूमा धेरै प्रोटिन, फाइबर र पानी हुन्छ । बोसोमा अन्य कुनै पनि पोषक तत्वभन्दा बढी क्यालोरी हुन्छ र यसले तपाईंलाई आफ्नो खानाबाट सन्तुष्ट महसुस गराउन सक्छ ।’
जैतुनको तेल, एभोकाडो, माछा, बदामजस्ता खानाबाट प्राप्त स्वस्थ बोसो पनि सन्तुलित मात्रामा खानु राम्रो हुन्छ । ‘हाम्रो खानाको ८० प्रतिशत स्वस्थ, कम क्यालोरी भएका पौष्टिक खाना हुन सक्छन् र बाँकी २० प्रतिशत हाम्रो मनपर्ने खाना वा उच्च क्यालोरी भएका खाना हुन सक्छन्,’ उनी भन्छन् । दुवै विज्ञको साझा मत छ, ‘तपाईं कति खानुहुन्छ भन्ने बारेमा चिन्ता नगर्नुहोस्, केवल सन्तुलित मात्रामा खानुहोस् र स्वस्थ रहनुहोस् ।’

