काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्ने भएको छ । संघीय संसद् नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने बैठकका लागि दुई वटा सम्भावित कार्यसूची राखिएको छ ।
आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७७ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भनी प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । यो विधेयक राष्ट्रिय सभाबाट भने पारित भइसकेको छ ।
साथै आजको बैठकले संविधानसभा सदस्य पुरुषेत्तम बस्नेतको निधनमा शोक प्रस्ताव पारित गर्ने कार्यसूची छ । नेपाली कांग्रेसबाट २०६४ मा संविधानसभा सदस्य बनेका बस्नेतको वैशाख २९ गते ७८ वर्षको उमेरमा निधन भएको थियो ।

