काठमाडौँ । नेपाल आयल निगमले काठमाडौं उपत्यकाभित्र होटल तथा व्यावसायिक प्रयोजनका लागि ग्यास बिक्रीमा तत्कालका लागि रोक लगाएको छ ।
निगमका अनुसार अब ठूला होटल, रेस्टुरेन्ट तथा उद्योगहरूले आफूलाई चाहिने ग्यास उपत्यकाबाहिरका उद्योगबाट सीधा खरिद गरी ल्याउनुपर्नेछ ।
सर्वसाधारण (घरायसी) उपभोक्तालाई ग्यासको सहज आपूर्ति सुनिश्चित गर्ने उद्देश्यले यो निर्णय गरिएको निगमले जनाएको छ ।
१४ भदौमा कृष्णभिरमा सडक भासिएका कारण ग्यास आपूर्ति शृङ्खलामा गम्भीर असर परेको निष्कर्ष निकाल्दै निगमले उपत्यकामा ग्यास हाहाकार हुन नदिन वैकल्पिक उपाय अघि सारेको हो ।
राजमार्ग अवरुद्ध भई ग्यास बुलेट काठमाडौं आउन नसकेपछि अब काठमाडौं उपत्यकामा बिक्री वितरण गर्ने एलपी ग्यास उद्योगहरूले हाललाई तराईका उद्योगहरूमा नै ग्यास सिलिन्डर भरेर वैकल्पिक मार्गबाट काठमाडौं ल्याउने व्यवस्था मिलाइएको छ ।


