काठमाडौँ । जलस्रोत मन्त्रालयले उद्धार तथा विपद् राहत कार्यमा सहयोग पुर्याउन चीनले नेपालसँग आपतकालीन जलविज्ञानसम्बन्धी निगरानी सूचना निरन्तर आदानप्रदान गर्ने भएको छ ।
काठमाडौंस्थित चिनियाँ दूताबासले सामाजिक सञ्जालमार्फत यसबारे जानकारी दिएको छ। चीनको जलस्रोत मन्त्रालयलाई उद्धृत गर्दै दूताबासले नेपाललाई हिमतालको जोखिमसँगै मौसमसम्बन्धी सूचना प्रदान गर्ने उल्लेख गरेको छ।
‘चीनले नेपाललाई उद्धार तथा विपद् राहत कार्यमा सहयोग पुर्याउन हिमतालको जोखिम र अवरोधलाई समेट्दै आपतकालीन जलविज्ञान अनुगमनसम्बन्धी सूचनाहरू निरन्तर उपलब्ध गराउनेछ,’ दूतावासले भनेको छ।
यससँगै चीनले भोटेकोसी बाढीपछि नेपाललाई मौसम अनुगमन, पूर्वानुमान, पूर्वचेतावनी र प्रभावसम्बन्धी सूचना उपलब्ध गराउँदै आएको जनाएको छ।
चाइना मेटियोरोलोजिकल एडमिनिस्ट्रेसनले पत्रकार सम्मेलन गरेर यसबारे जानकारी सार्वजनिक गरेको दूतावासले उल्लेख गरेको छ। भोटेकासी बाढी लगत्तै नेपालको जल तथा मौसम विज्ञान विभागसँग भिडिओ परामर्श बैठक गरिएको पनि जनाएको छ।


