काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित समुदायको उद्धार, राहत तथा दीर्घकालीन पुनर्स्थापनाका लागि जर्मनीले झण्डै १ अर्ब ४० करोड रुपैयाँ (८० लाख युरो) बराबरको बृहत् सहायता प्याकेज घोषणा गरेको छ।
काठमाडौँस्थित जर्मन राजदूतावासका अनुसार उक्त सहायता तत्कालीन मानवीय आवश्यकता पूरा गर्नेदेखि बाढीपछि हुने पुनर्निर्माण तथा भविष्यमा आइपर्न सक्ने विपद् व्यवस्थापनको क्षमता अभिवृद्धिसम्मका क्षेत्रमा परिचालन गरिनेछ।
घोषित प्याकेजअन्तर्गत ५ लाख युरोभन्दा बढी रकम आपत्कालीन राहतका लागि छुट्याइएको छ। नेपाल सरकारको अनुरोधमा युरोपेली संघको नागरिक सुरक्षा संयन्त्रमार्फत प्रभावित क्षेत्रमा आवश्यक सामग्री पठाइनेछ। त्यसमा भान्साका सामग्री, त्रिपाल, झुल, खानेपानी आपूर्ति गर्ने उपकरण तथा क्याम्प बेडलगायतका सामग्री रहेका छन्।
यस्तै, थप २ लाख युरो मानवीय सहायताका रूपमा दुईवटा नागरिक समाज संस्थामार्फत परिचालन गरिनेछ। उक्त रकम विशेषगरी गर्भवती महिला, सुत्केरी तथा नवजात शिशुको स्वास्थ्य सेवामा पहुँच विस्तार गर्न तथा बाढी प्रभावित परिवारका लागि आयआर्जनका अवसर सिर्जना गर्न प्रयोग गरिने दूतावासले जनाएको छ।
जर्मनीले तत्कालीन राहतमा मात्र आफ्नो सहयोग सीमित नगरी दीर्घकालीन पुनर्स्थापना तथा विकासका लागि ७३ लाख ५० हजार युरो थप परिचालन गर्ने भएको छ।
जर्मन संघीय आर्थिक सहयोग तथा विकास मन्त्रालयमार्फत उपलब्ध गराइने उक्त रकम जर्मन अन्तर्राष्ट्रिय सहयोग संस्था (जीआईजेड) ले कार्यान्वयन गर्नेछ। यसबाट बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माण, पुनर्स्थापना तथा विपद् जोखिम न्यूनीकरणसँग सम्बन्धित कार्यक्रम सञ्चालन गरिने जनाइएको छ।
जर्मन राजदूतावासले विपद्को यस कठिन घडीमा जर्मनी नेपाली जनताको साथमा रहेको जनाएको छ। नेपाल र जर्मनीबीचको लामो समयदेखिको साझेदारीले विपद्को सामना गर्न तथा प्रभावित समुदायको पुनर्स्थापनामा थप सहयोग पुग्ने विश्वाससमेत दूतावासले व्यक्त गरेको छ।
जर्मनीको यो सहायता प्याकेजले भोटेकोशी बाढीबाट प्रभावित समुदायलाई तत्काल राहत उपलब्ध गराउनुका साथै दीर्घकालीन रूपमा पुनर्स्थापना र विपद् प्रतिरोधी क्षमता निर्माणमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।


