काठमाडौं । राष्ट्र बैंकले नेपालमा मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या २ करोड ४ लाख ३४ हजार ३१ पुगेको विवरण सार्वजनिक गरेको छ । फागुन मसान्तसम्म मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या २ करोड ६५ हजार २६७ थियो । राष्ट्र बैंकका अनुसार अघिल्लो महिना करिब ५ लाख हाराहारी घटेको मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या पुनः बढेको छ । अघिल्लो फागुनको तुलनामा चैतमा मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या ३ लाख ६८ हजार ७६४ ले बढेको हो ।
समीक्षा अवधिमा मोबाइल बैंकिङमार्फत कुल २ खर्ब ७ अर्ब ४५ करोड २० लाख बराबरको भुक्तानी भएको छ । अघिल्लो महिना फागुनमा यस्तो ट्रान्जेक्सन १ खर्ब ९१ अर्ब ८२ करोड ४० लाख हाराहारी भएको थियो । यस्तै, समीक्षा अवधिमा इन्टरनेट बैंकिङ प्रयोगकर्ताको संख्या १७ लाख ९८ हजार ८६६ पुगेको छ भने प्रयोगकर्ताबाट चैतमा १३ अर्ब ६७ करोड ९० लाख बराबरको कारोबार भएको छ । अघिल्लो महिना इन्टरनेट बैंकिङमार्फत १३ अर्ब ८६ करोड १० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
समीक्षा अवधिमा डेबिट क्रेडिट कार्डमार्फत क्रमशः ८६ अर्ब ४५ करोड १० लाख र १५ करोड ८४ लाखको कारोबार भएको छ भने कनेक्ट–आइपीएसमार्फत ३ खर्ब ८० अर्ब ९३ करोड ६० लाख रुपैयाँ बराबरको भुक्तानी भएको राष्ट्र बैंकले जनाएको छ ।