काठमाडौँ । रसुवा भोटेकोशीमा आएको भीषण बाढीले जलविद्युत् आयोजनामा ठूलो क्षति पुर्याएपछि नेपालबाट बंगलादेश निर्यात हुँदै आएको विद्युत् रोकिएको छ ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार सम्झौता गरिएका चिलिमे र त्रिशूली जलविद्युत् आयोजनामा भोटेकोशी बाढीले क्षति पुर्याएपछि ती आयोजनाबाट उत्पादित विद्युत् बंगलादेश पठाउन रोकिएको हो ।
नेपालले यी दुई आयोजनाबाट उत्पादित ४० मेगावाट विद्युत् बंगलादेश निर्यात गर्दै आएको थियो । बाढीले प्रसारण तथा उत्पादन संरचनामा क्षति पुर्याएपछि अहिले उक्त विद्युत् निर्यात रोकिएको हो ।
नेपालले भारत र बंगलादेश दुवैतर्फ गरी करिब १ हजार २ सय मेगावाटसम्म विद्युत् निर्यात अनुमति पाएको थियो । तर, भोटेकोशीमा आएको बाढीले रसुवा र नुवाकोटका जलविद्युत् आयोजनामा क्षति पुर्याएपछि निर्यातयोग्य विद्युत् उपलब्धता घटेको छ ।
बाढीका कारण प्राधिकरण र निजी क्षेत्रका गरी १२ जलविद्युत् आयोजनामा क्षति पुगेको छ । निर्माणाधीन आयोजनाका संरचनासँगै सञ्चालनमा रहेका आयोजनामा समेत बाढीले क्षति पुर्याएको छ ।
क्षतिको प्रत्यक्ष असर विद्युत् उत्पादनमा परेपछि भारततर्फ पठाउँदै आएको विद्युत् समेत कटौती गर्नुपरेको प्राधिकरणको भनाइ छ ।


