काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका नेता माधवकुमार नेपालविरुद्ध अर्को भ्रष्टाचार मुद्दा विशेष अदालतमा पेस भएको छ । मन्त्रिपरिषद्को निर्णयमार्फत विराटनगर क्षेत्रको सार्वजनिक जग्गा छुट दर्ता गराएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध मुद्दा अघि बढाएको हो ।
अख्तियारले विराटनगर क्षेत्रको सार्वजनिक जग्गा छुट दर्ता प्रक्रियामा अनियमितता भएको दाबी गरेको छ । उक्त मुद्दा अहिले विशेष अदालतमा रुजु हुने प्रक्रियामा छ ।
नेपालविरुद्ध यसअघि नै पतञ्जली योगपीठको जग्गा प्रकरणमा भ्रष्टाचार मुद्दा चलिरहेको छ । अख्तियारले २०८२ जेठ २२ गते नेपालसहित ९३ जनालाई प्रतिवादी बनाएर विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
पतञ्जलीलाई हदबन्दीभन्दा बढी जग्गा खरिद तथा बिक्री गर्न मन्त्रिपरिषद्बाट स्वीकृति दिलाउने क्रममा पदको दुरुपयोग गरी सार्वजनिक सम्पत्तिमा हानि पुर्याएको अख्तियारको आरोप छ । उक्त प्रकरणमा नेपालविरुद्ध १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो मागदाबी गरिएको छ ।
पतञ्जली प्रकरणको मुद्दा अहिले अन्तिम सुनुवाइको चरणमा पुगेको छ । विशेष अदालतले कात्तिक १९ गते अन्तिम सुनुवाइका लागि पेसी तोकेको थियो । तर, विशेष कामले बाहिर जानुपर्ने भन्दै नेपालले निवेदन दिएपछि अदालतले उनलाई उक्त दिन उपस्थित हुनबाट छुट दिएको छ । साथै, आफ्नो सट्टा कानुन व्यवसायीमार्फत तारिख लिन पनि अनुमति दिएको छ ।
यसरी नेपालविरुद्ध सार्वजनिक जग्गासम्बन्धी अर्को भ्रष्टाचार मुद्दा अघि बढेको छ भने पतञ्जली जग्गा प्रकरणको मुद्दा पनि विशेष अदालतमा विचाराधीन छ । दुवै प्रकरणमा अदालतबाट अन्तिम फैसला आउन बाँकी छ ।



