काठमाडौँ । नेपालको सबैभन्दा ठूलो अटोमोबाइल तथा मोबिलिटी प्रदर्शनी नाडा अटो शोको तयारी अन्तिम चरणमा पुगेको छ । काठमाडौंको भृकुटीमण्डपमा भदौ ९ देखि १४ गतेसम्म हुने शोको तयारी अन्तिम चरणमा पुगेको हो ।
प्रदर्शनीस्थलमा विभिन्न अटोमोबाइल ब्रान्ड, अटो पार्ट्स तथा कम्पोनेन्ट, टायर, ल्युब्रिकेन्ट्स, ब्याट्री, चार्जिङ पूर्वाधार, ग्यारेज उपकरण, बैंक तथा बीमा कम्पनीका स्टल निर्माणको काम धमाधम भइरहेको आयोजकले जनाएको छ ।
करिब तीन लाख वर्गफिट क्षेत्रफलमा हुने प्रदर्शनीमा यात्रुवाहकका २३, हल्का व्यावसायिकका १७ र दुईपांग्रेका १३ गरी ५३ सवारी ब्रान्ड सहभागी हुँदै छन् ।
प्रदर्शनीमा अटोमोबाइल तथा मोबिलिटी क्षेत्रका नयाँ सवारीसाधन, विद्युतीय सवारी, अत्याधुनिक प्रविधि तथा विभिन्न अटोमोबाइल उत्पादन र सेवा प्रदर्शन गरिनेछ । करिब ७० स्टलमा अटो पार्ट्स, टायर, ब्याट्री, ल्युब्रिकेन्ट्स, एसेसरिज, ग्यारेज उपकरणलगायत सामग्री प्रदर्शन गरिनेछ । यसमा बैंक, वित्तीय संस्था तथा बिमा कम्पनीको समेत सहभागिता रहनेछ ।
प्रदर्शनी सुरु हुन केही दिन मात्र बाँकी रहेकाले भृकुटीमण्डपमा अहिले स्टल निर्माण चलिरहेको छ । विभिन्न ब्रान्डका स्टललाई आकर्षक तथा प्रविधिमैत्री बनाउने कामसँगै विद्युत्, प्रकाश, डिजिटल डिस्प्ले, ब्रान्डिङ तथा अन्य प्राविधिक व्यवस्थापनको काम पनि समानान्तर रूपमा अघि बढिरहेको छ ।
नाडा अटो शोको यस संस्करणलाई नाडाको ५० औँ स्थापना वर्षको स्वर्ण जयन्ती संस्करणका रूपमा आयोजना गरिँदैछ । त्यसैले यसपटकको प्रदर्शनीलाई विगतका संस्करणभन्दा थप व्यवस्थित, प्रविधिमैत्री र आकर्षक बनाउने तयारी गरिएको आयोजकले जनाएको छ ।


