काठमाडौं । वीरगन्ज चिनी कारखाना पुनः सञ्चालन गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले कार्यदल गठन गरेको छ ।
मन्त्री गौरीकुमारी यादवको पहलमा वर्षौंदेखि बन्द अवस्थामा रहेको वीरगन्ज चिनी कारखाना लिमिटेडको वर्तमान अवस्था अध्ययन गरी पुनः सञ्चालनको सम्भाव्यता र आवश्यक कार्ययोजना तयार गर्न अध्ययन कार्यदल गठन गरिएको हो ।
नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार खारेजीमा परेको वीरगन्ज चिनी कारखानाको अवस्था, विगतका निर्णय, कारखाना पुनः सञ्चालनका लागि यसअघि तयार भएका अध्ययन तथा प्रतिवेदन र अब चाल्नुपर्ने कदमबारे अध्ययन गर्न कार्यदल गठन गरिएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले गठन गरेको कार्यदलले आफ्नो अध्ययन पूरा गरी १५ दिनभित्र प्रतिवेदन पेस गर्नेछ । कार्यदलको संयोजकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट सीडीई श्रीकान्त यादव र सदस्यमा मन्त्रालयका शाखा अधिकृत र उद्योग विभागका अधिकृत प्रतिनिधि छन् ।


