काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै उम्मेदवार छनोट प्रक्रिया औपचारिक रूपमा सुरु गर्ने भएको छ। पार्टीले भदौ १ गतेदेखि ‘क्यान्डिडेट क्लब’का लागि आवेदन खुला गर्ने निर्णय गरेको छ।
रास्वपाका महामन्त्री विपीनकुमार आचार्यले ‘क्यान्डिडेट क्लब’ मार्फत इमानदार, सक्षम र जनउत्तरदायी नेतृत्व छनोट गर्ने उद्देश्य रहेको बताएका छन्। उनका अनुसार परम्परागत अपारदर्शी प्रणालीलाई विस्थापित गर्दै पार्टीले लोकतान्त्रिक, पारदर्शी, वैज्ञानिक र आधुनिक विधिबाट उम्मेदवार छनोट गर्ने तयारी गरेको हो।
पार्टीले हाल उम्मेदवार छनोटको मापदण्ड, मूल्याङ्कन प्रणाली र प्रक्रियाबारे नेता–कार्यकर्ता, सदस्य तथा सरोकारवालाबाट सुझाव संकलन गरिरहेको छ। प्राप्त सुझावलाई समेटेर अन्तिम प्रणाली तयार गरिने र त्यसका आधारमा स्थानीय तहका लागि योग्य नेतृत्व छनोट गरिने जनाइएको छ।
रास्वपाका अनुसार ‘क्यान्डिडेट क्लब’ केवल चुनावी प्रक्रिया नभई योग्य नेतृत्व उत्पादन र संगठन विस्तार गर्ने दीर्घकालीन अभियानका रूपमा अघि बढाइनेछ।


