भारतकाे दिल्लीमा जारी विद्यार्थी आन्दोलनको समर्थनमा बिहारको राजधानी पटनामा बुधबार अखिल भारतीय विद्यार्थी संघ (आइसा)को आह्वानमा विद्यार्थीहरूले प्रदर्शन गरेका छन् । प्रदर्शनमा आइसा आबद्ध विद्यार्थीका साथै अन्य विद्यार्थी संगठनका विद्यार्थीहरू पनि सहभागी भएका थिए ।
प्रदर्शनकारीहरूको मार्च पटनाको गान्धी मैदानको गेट नम्बर १० बाट सुरु भएर राजभवनसम्म जाने तय भएको थियो । तर, गान्धी मैदानस्थित जेपी गोलम्बर नजिकै प्रहरीले विद्यार्थीहरूलाई रोकेको थियो । प्रदर्शनकारीमाथि प्रहरीले वाटर क्यानन प्रयोग गर्नुका साथै अश्रुग्यासका गोला प्रहार गरेको थियो ।
बीबीसीका भिडियो पत्रकार शहनवाज अहमदका अनुसार प्रहरीले दुईवटा अश्रुग्यासका गोला प्रहार गरेको थियो । यस क्रममा प्रदर्शनकारीहरूले पनि प्रहरीमाथि ढुंगामुढा गरेको आरोप लागेको छ ।
प्रहरी कारबाहीका बाबजुद प्रदर्शनकारी विद्यार्थीहरू जेपी गोलम्बरमै रोकिएनन् र अघि बढ्दै डाक बंगला चोकसम्म पुगे । यस क्रममा विद्यार्थीहरूले निरन्तर ‘गोदी मिडिया गो ब्याक’ भन्ने नारा लगाइरहेका थिए ।
प्रदर्शनका क्रममा धेरै सञ्चारकर्मी घाइते भएको जानकारी सार्वजनिक भएको छ । केही व्यक्तिको हस्तक्षेपपछि धेरै सञ्चारकर्मीलाई भिडबाट सुरक्षित रूपमा बाहिर निकालिएको थियो ।


