काठमाडौँ । रसुवा बाढी प्रभावित क्षेत्रमा रहेका विद्युत् आयोजनाका पाँचवटा टनेलमा खोज तथा उद्धार कार्य चलिरहेको छ ।
नेपाली सेनाका अनुसार, रसुवागढी जलविद्युत् आयोजनामा खोज तथा उद्धारको टोली तथा आयोजनाको प्रतिनिधिसहितको टोली पावरहाउस र कन्ट्रोल पोइन्टसम्म पुगी खोजी कार्य गरिरहेको छ ।
“त्रिशूली–३ ‘ए’को पावरहाउस तथा टनेलमा नेपाली सेनाका आठजनाको फौज रेस्क्यु इक्वीपमेन्ट सामग्रीसहित खोज तथा उद्धार कार्यलाई निरन्तरता दिइरहेको छ,” नेपाली सेनाले आइतबार दिउँसो जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
त्रिशूली–३ ‘बी’मा अडिट–२ बाट फौज छिरी अडिट–१ बाट निस्किएको छ । अडिट–२ टनेलबाट स्काभेटर जान सक्ने गरी बाटो सफा गरिँदै छ ।
“चिलिमे हाइड्रोमा विदेशीसहितको संयुक्त टोलीले मिनी स्काभेटर र मड पम्पको सहायताले लेदो फाल्ने पावर हाउसको करिब ५०–६० मिटरनजिक पुगेको छ,” नेपाली सेनाले जनाएको छ । स्याफ्रुबेसीमा स्लीङ अपरेसनमार्फत स्काभेटर लगेर टनेल इलाकामा लैजाने कार्य भइरहेको छ ।
माथिल्लो त्रिशूली–१ मा विदेशीसहितको टोलीले थर्मल क्यामेरमार्फत टनेलभित्र थप खोजी कार्य गर्ने जनाइएको छ ।


