काठमाडौँ । बाढीग्रस्त क्षेत्रमा खोजी र अनुसन्धान कार्यलाई तीव्रता दिन प्रविधिको उच्च प्रयोग गरिएको छ । रसुवा, नुवाकोट र धादिङमा १२ वटा ड्रोनको प्रयोग गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
पैदल गस्ती कठिन भएका दुर्गम क्षेत्रहरूमा पनि ड्रोनको सहायताले निगरानी र खोजी भइरहेको सचिवालयले जानकारी दिएको छ ।
“खोजी कार्यका लागि पाँच तालिमप्राप्त कुकुर र सञ्चार विच्छेद भएका दुर्गम क्षेत्रहरूमा सूचना आदानप्रदानका लागि सातवटा स्याटेलाइट फोन प्रयोगमा ल्याइएको छ,” प्रधानमन्त्रीको सचिवालयले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
घटनास्थल अनुसन्धान र मुचुल्का कार्यका लागि ६७ जना तथा विभिन्न जिल्लामा शव पहिचान र व्यवस्थापनका लागि ७१५ जना प्रहरी परिचालन भएका छन् ।
प्रभावित क्षेत्रहरूमा ‘सिन अफ क्राइम अफिसर’सहितको टोली र शवहरूको डीएनएलगायत वैज्ञानिक परीक्षणका लागि फरेन्सिक विज्ञहरूको विशेष टोली परिचालन गरिएको छ ।


