काठमाडौँ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङ कृष्णभिर खण्डमा पहिरो गएर मुख्य सडक अवरुद्ध भए पनि वैकल्पिक मार्ग हुँदै पछिल्लो तीन दिनमा काठमाडौं उपत्यकामा झन्डै ८८ हजार थान खाना पकाउने एलपी ग्यास सिलिन्डर भित्रिएको तथ्यांक नेपाल आयल निगमले सार्वजनिक गरेको छ ।
निगमले सडक अवरुद्ध हुँदा ग्यास आपूर्तिमा पर्न सक्ने प्रभाव मध्यनजर गर्दै तराईका उद्योगहरूबाट रिफिल गराएर उक्त परिमाणमा ग्यास भित्र्याएको निगमले जनाएको छ ।
भदौ १८ गते २४ हजार ४९४ सिलिन्डर, भदौ १९ गते ३४ हजार १३४ सिलिन्डर र भदौ २० गते २९ हजार २४९ सिलिन्डर गरी तीन दिनको अवधिमा कुल ८७ हजार ८७७ सिलिन्डर रिफिल गरेर काठमाडौँ भित्र्याइएको छ ।
श्री ग्यास, सूर्य, ओम, श्रीराम, सगर, साईबाबा, श्रीकृष्ण, श्रीमाया, लोकप्रिय, एभरेस्ट, सुगम, नेपाल, एचपी, एसटीसी, सिद्धार्थ, हिमाल, सिताश्री र नमस्ते ब्रान्डका ग्यास आपूर्ति गरिएको छ ।
पृथ्वीराजमार्गको कृष्णभिर खण्डको बाटो मर्मत भई नियमित सञ्चालनमा नआउञ्जेलसम्म यसरी नै वैकल्पिक प्रक्रियाबाट एलपी ग्यासको आपूर्ति र बिक्री वितरणलाई निरन्तरता दिइने निगमले जनाएको छ ।


