काठमाडौं । प्रधानमन्त्री बालेन शाहले सोमबार पुँजीबजारसँग सम्बन्धित निकाय, ब्रोकर, नियामक तथा लगानीकर्तासँग करिब एक घण्टा छलफल गर्दै सेयर बजार सुधारका लागि सरकार सकारात्मक रहेको बताएका छन्। उनले निजी क्षेत्रप्रति सरकार नकारात्मक नरहेको स्पष्ट पार्दै बजारका समस्या समाधानका लागि आवश्यक पहल गरिने आश्वासन दिएका छन्।
छलफलमा लगानीकर्ताले बजारमा देखिएका समस्या समाधानका लागि कर प्रणालीमा सुधार, घाटा समायोजनपछि मात्र पुँजीगत लाभकर लगाउने व्यवस्था, ब्रोकरमार्फत मार्जिन लेन्डिङ सञ्चालन, नेप्सेको पुनर्संरचना, धितोपत्र बोर्डको १० कित्ते नीति पुनरावलोकन, आईपीओ प्रणाली सुधार, बुक बिल्डिङ, इन्ट्रा–डे कारोबार, अक्सन मार्केट, सेयर सापटी, रणनीतिक साझेदारसहित नेप्से निजीकरणलगायतका दर्जनौं नीतिगत सुझाव पेश गरेका थिए।
प्रधानमन्त्रीले पुँजीबजारलाई रोजगारी सिर्जना र राजस्व वृद्धिको महत्वपूर्ण माध्यमका रूपमा हेर्ने सरकारको दृष्टिकोण रहेको बताउँदै बाहिरी हल्लाको भरमा लगानी निर्णय नगर्न पनि आग्रह गरेका छन्। बजार सुधारका विषयमा सम्बन्धित निकायसँग थप समन्वय गरी आवश्यक निर्णय अघि बढाइने संकेत उनले दिएका छन्।
यसैबीच, प्रधानमन्त्रीले छलफलका लागि बोलाएपछि बजारमा सकारात्मक संकेत देखिएको छ। सोमबार नेप्से परिसूचक ४१ अंकले बढेको छ। लगानीकर्ता पक्षले प्रधानमन्त्री, नियामक र लगानीकर्ता एउटै टेबलमा बसेर पुँजीबजारबारे औपचारिक छलफल भएको यो पहिलो अवसर भएको बताएका छन्।


