काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि सभाको निर्वाचनमा पार्टीको निर्णय विपरीत भएकाहरूलाई कारबाहीको डन्डा चलाउने तयारी गरेको छ। आज बसेको अनुशासन समितिको बैठकमा निर्वाचनमा अनुशासन उल्लङ्घन गरिएको भनी केन्द्रीय अनुशासन समितिमा हालसम्म आएको उजुरीबारे छलफल भएको हो।
अहिलेसम्म ५०७ जना व्यक्तिकोविरुद्ध उजुरीहरूलाई वर्गीकरण गरी अविलम्ब टुङ्गोमा पुर्याउने निर्णय गरेको छ।
निर्वाचनमा स्वतन्त्र उम्मेदवार भएका र प्रस्तावक समर्थक बसेका, निर्वाचनमा पार्टीका उम्मेदवार विरुद्ध प्रचार प्रसारमा प्रत्यक्ष सहभागी भएका, पार्टी उम्मेदवारका विरुद्ध अप्रत्यक्ष रूपमा विपक्षीलाई टेवा पुर्याएका, निर्वाचनमा नेपाली कांग्रेसलाई मत नमागी साइलेन्स किलिङको काम गरेका, नेपाली कांग्रेसबाट जनप्रतिनिधि निर्वाचित भई प्रतिनिधि सभाको निर्वाचनमा विपक्षीलाई सहयोग गरेकाहरूलाई कारबाही गर्ने तयारी गरेको छ।
छानबिनबाट वर्गीकरण गरिएका उजुरीको हकमा अनुशासन उल्लङ्घन गरेको भनी आरोप लागेका व्यक्तिहरूबाट ७ (सात) दिनभित्र स्पष्टीकरण (सफाइ) माग गर्ने निर्णय समेत गरेको छ।
बैठकले निर्वाचनमा पार्टीका सदस्यहरूले अनुशासन उल्लङ्घन गरेका भए सो को उजुरी चैत्र मसान्त भित्र केन्द्रीय अनुशासन समितिमा पठाउन निर्देशन समेत दिएका छन्।
चैत मसान्तपछि प्राप्त हुन आएका उजुरी उपर कुनै कारबाही नगरिने जनाएको छ।

