काठमाडौं – सामान्यतया पक्राउ परेपछि कुनै मुद्दाको अनुसन्धान सक्नलाई प्रहरीले २५ दिनसम्मको समय लिन्छ। तर, ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभको आरोपमा पक्राउ गरेका प्रभु बैंकका पूर्व अध्यक्ष देवीप्रकाश भट्टचन भने १५ दिनमा नै छुटे। केन्द्रिय अनुसन्धान ब्युरो (सीआईबी)ले अनुसन्धानका लागि पक्राउ गरेका भट्टचनले शक्ति र सत्ताको आडमा आफूलाई समय अगावै छुटाउन सफल बनेका हुन्।
उनी नेपाल राष्ट्र बैंक ऐन, २०५८ अन्तर्गतको कसुर मुद्दामा पक्राउ परेका थिए। जो पहुँच र शक्तिका आधारमा नै पक्राउ परेको १५ दिनमा नै छुटेका हुन्। यसअघि पक्राउ परेका हाइप्रोफाइल व्यक्तिहरूले जस्तै उनी पनि पक्राउ परेको केही दिनमा नै बिरामी भई हस्पिटल भर्ना हुने गर्थ्याेँ। त्यस्तै उनी पनि पक्राउ परेको केही दिनमा नै बिरामी भई हस्पिटल भर्ना भए सोही आधारलाई मानेर उनी सीआईको थुनाबाट रिहा भए।
उनी स्वास्थ्य समस्या देखाउँदै अस्पतालबाटै बयान दिइरहेका थिए । उनीविरुद्ध अनुसन्धान गर्न कात्तिक ११ गते (मंगलबार) पक्राउ परेका भट्टचनलाई शुरुमा ५ दिन, २ दिन, २ दिनहुँदै चौथो पटकमा ५ दिन थप गरिएको थियो । त्यसपछि सीआईबीले म्याद थप गर्न जानु अघि नै उनलाई रिहा गर्न निर्देशन दिएको हो । शुरुवाती चरणमा सरकारी वकिल कार्यालयले अनुसन्धान प्रक्रिया अघि बढाउन भनेको थियो ।
तर, भट्टचनविरुद्धको अनुसन्धान थप गहिराइसम्म जाने र भित्रैसम्म जाने देखिएपछि कार्यालयले नै छाड्न आदेश दिएसँगै सीआईबीले छाडेको हो । सरकारी वकिल कार्यालयका सहन्यायाधिवक्ता कार्यालय प्रमुख रामहरि शर्मा काफ्लेले बैंकिङ्ग समचारसँगको कुराकानीमा भट्टचन बिरामी भएका कारण उनलाई रिहा गर्न आदेश दिएको बताए । उनले भने, ‘स्वास्थ्य अवस्थाका कारण रिहा गरिएको थियो, उनको स्वास्थ्य अवस्था गम्भिर भएकाले गर्दा हस्पिटलमा नै भर्ना गरिएको थियो ।’
भट्टचनलाई सरकारी वकिल कार्यालयले छाड्न मनासिव देखेपछि सीआईबीले रिहा गरेको हो। कसुरको अनुसन्धान सम्बन्धी नियमावली २०७५ को नियम दफा १९ मा पक्राउ परेको व्यक्तिको मिसिलसहितको निवेदनमा उल्लेखित आधार र कारण मनासिव देखिएमा सम्बन्धित सरकारी वकीलले मुद्दा हेर्ने अधिकारी समक्ष म्याद थपका लागि अनुसूची ८ बमोजिमको ढाँचामा निवेदन पेश गर्नु पर्नेछ।
तर त्यसरी पेश भएको मिसिल अध्ययन गर्दा म्याद थप गर्नु पर्ने स्पष्ट आधार र कारण नदेखिएमा सम्बन्धित सरकारी वकीलले संहिताको दफा १५ बमोजिम धरौट वा जमानत लिई वा कुनै व्यक्तिको जिम्मामा छाडन वा तारेखमा राख्नको लागि सम्बन्धित अनुसन्धान अधिकारीलाई लेखी पठाउन सकिने उलेख्ख गरिएको छ। सोही नियमावली अनुसार उनलाई रिहा गर्न सरकारी वकिल कार्यालयले निर्देशन दिएको हो।
भट्टचन रिहा भएता पनि उनीविरुद्धको अनुसन्धान नरोकिने सीआईबीका प्रवक्ता शिव कुमार श्रेष्ठ बताउँछन्। उनलाई बाहिरै राखेर अनुसन्धान अघि बढाइने उनले बताए। एमालेका संसद समेत रहेका भट्टचन केपी शर्मा ओलीका प्रिय पात्र हुन्। ‘हाइप्रोफाइल’ व्यक्तित्वकारुपमा रहेका उनीविरुद्ध एक वर्ष अघि नै जाहेरी पर्दा पनि अनुसन्धान अघि बढेको थिएन। तर, पछिल्लो समय सीआईबीले उनीविरुद्धको फाइल खोल्दै पक्राउ गरेर अनुसन्धान अघि बढाएको थियो।
त्यसयता सीआईबीले राष्ट्र बैंकसँगको सहकार्यमा प्रभु बैंकको केन्द्रीय कार्यालयमा छापा समेत मारेको थियो। त्यसक्रममा सीआईबीले प्रभु बैंक र प्रभु म्यानेजमेन्टका संकास्पद पत्रहरु साथमा लगेको थियो। जसमाथि यतिबेला अनुसन्धान भइरहेको छ। अनुसन्धान भइरहेको विषयमा सरकारी वकिलको कार्यालयले नै छाड्न भनेपछि भट्टचनले फेरी शक्ति प्रदर्शन गरेको बुझ्न सकिन्छ। उनी ठाकुर प्रसाद मानन्धरलगायतको जाहेरीका आधारमा पक्राउ परेका थिए। bankingsamachar बाट

