काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा उल्लेख्य सुधार भएको छ । स्वास्थ्यमा सुधार भएसँगै राष्ट्रपतिले नै सरकारको नीति तथा कार्यक्रम बाचन गर्ने हुनु भएको छ । यसअघि राष्ट्रपतिको स्वास्थ्यमा समस्या आएकाले प्रधानमन्त्री प्रचण्डले नीति तथा कार्यक्रम बाचन गर्ने सार्वजनिक भएको थियो ।
तर, राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले राष्ट्रपतिले गर्नुपर्ने सबै राजकीय कामकारबाहीहरु गरिरहेको र नीति तथा कार्यक्रम पनि संसदमा गएर बाचन गर्ने बताउनु भयो । पोखरेलले नीति तथा कार्यक्रम बाचनका लागि राष्ट्रपति आवश्यक तयार भएर बसेको पनि बताउनु भयो ।
स्वास्थ्यको समस्या भएपछि केही साताअघि राष्ट्रपति भारतमा उपचार गराएर फर्किनु भएको थियो । त्यसपछि शीतलनिवासमा आराम गरिरहनु भएका पौडेलको स्वास्थ्यमा समस्या भएकाले प्रधानमन्त्रीले नै नीति तथा कार्यक्रम बाचन गर्ने भनेर प्रचार भएपछि एमालेले यसमा असन्तुष्टि जनाएको थियो ।
राष्ट्रपतिले बाचन गर्न नसक्ने हो भने सो जिम्मेवारी उपराष्ट्रपतिलाई दिनुपर्ने एमालेको भनाइ थियो ।