काठमाडौँ । पाँचथरमा ट्याक्टर चढेर विद्यालय गइरहेका दुई विद्यार्थीको दुर्घटनामा मृत्यु भएको छ । मेची राजमार्ग अन्तर्गत हिलिहाङ गाँउपालिकाकाे भारपामा ट्याक्टरबाट खसेर दुई बालिकाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दिवस कुवँरका अनुसार १३ वर्षीया पुजना सुवेदी र ९ वर्षीया गङ्गा सुवेदीको मृत्यु भएको हो । चालक सिटको छेउमा रहेका दुई विद्यार्थी ट्याक्टरबाट झरेपछि साेही ट्याक्टरले किचेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुई विद्यार्थीको मृत्यु भएपछि चालकले हाम फाल्दा ट्याक्टर दुर्घटना हुँदा ट्रलीमा बालुवामाथि बसेका अन्य दुई विद्यार्थी घाइते भएका छन् । घाइतेको पाँचथर जिल्ला अस्पतालमा उपचार भइरहेको छ । विद्यालय जाने क्रममा ट्याक्टरमा ११ जना विद्यार्थी चढेका थिए । तीव्र गतिका कारण विद्यार्थी ट्याक्टरबाट झरेको अनुमान गरिएको छ । ट्याक्टरका चालक तथा सहचालक फरार रहेका छन् ।