१९ कात्तिक, काठमाडौं । आफूलाई प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाउने सरकारको निर्णयविरुद्ध निवर्तमान आईजीपी दानबहादुर कार्की सर्वोच्च अदालत पुगेका छन् ।
कार्कीका तर्फबाट उनका कानुन व्यवसायीहरूले केहीबेरअघि सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेका हुन् । आफूलाई अन्यायपूर्वक पदबाट हटाइएको भन्दै उनले न्यायिक उपचार खोजेका हुन् ।
मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले कार्कीलाई आईजीपी पदबाट हटाएर उक्त पदमा एआईजी मनोज केसीलाई नियुक्त गर्ने निर्णय गरेको थियो ।
त्यस्तै, कार्कीका लागि प्रधानमन्त्री कार्यालयमा विशेष सुरक्षा सल्लाहकार पद सिर्जना गरी उक्त पदमा नियुक्त गर्ने निर्णयसमेत सरकारले गरेको थियो ।
सरकारको निर्णयविरुद्ध सर्वोच्च पुगेका कार्कीको रिट अदालतको प्रशासनिक प्रक्रिया पूरा भएपछि मात्रै दर्ता हुने वा नहुने टुंगो लाग्नेछ ।



