चितवन राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्रबाट नारायणी नदीमा बगेको एउटा गैँडा नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम)को सुस्ता गाउँपालिका–४ पुगेको छ। अन्दाजी पाँच वर्षको गैँडा सोमबार बिहान सुस्तामा देखिएको हो।
निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार गैँडा सुस्ता पुगेको जानकारी पाएपछि निगरानी सुरु गरिएको छ। गैँडाको रेकी भइरहेको र उद्धार गरेर चितवन ल्याउने तयारी भइरहेको उनले बताए।
गैँडालाई डार्ट गरेर बेहोस बनाई डुङ्गा वा भारतीय बाटो हुँदै चितवन ल्याउने तयारी छ। सुस्ता क्षेत्रमा पुग्न भारतीय बाटो प्रयोग गर्नुपर्ने भएकाले सम्बन्धित निकायसँग समन्वय आवश्यक पर्ने निकुञ्जले जनाएको छ।
शनिबार र आइतबार नारायणी नदीमा आएको बाढीले नदी तटीय क्षेत्रबाट गैँडा बगाएको हो। बाढीले अन्य गैँडासहितका वन्यजन्तु पनि भारततर्फ पुर्याएको हुन सक्ने निकुञ्जको अनुमान छ।
यसअघि २०७४ सालको बाढीमा राप्ती र नारायणी नदीले बगाएर सुस्ता हुँदै भारतीय भूमिमा पुगेका १२ वटा गैँडा उद्धार गरी चितवन ल्याइएको थियो। त्यतिबेला भारतको वाल्मीकि टाइगर रिजर्भका अधिकारीहरूले उद्धारका लागि सहजीकरण गरेका थिए।
यस वर्षको बाढीमा राप्ती नदीको मेघौली, खैरहनीलगायत क्षेत्रमा बगेका केही गैँडा भने आफैँ सुरक्षित स्थानमा उत्रिएका छन्। भरतपुर महानगरपालिका–१७ शिसुवारबाट एउटा मृगसमेत उद्धार गरिएको छ।
पछिल्लो गणनाअनुसार चितवन राष्ट्रिय निकुञ्जमा ६९४ वटा गैँडा रहेका छन्।
बाढीमा बगेको गैँडा सुस्तामा भेटियो, उद्धारको तयारी
बाढीमा बगेको गैँडा सुस्तामा भेटियो, उद्धारको तयारी
तपाईको प्रतिक्रिया



