काठमाडौँ । नेपालको अटोमोबाइल तथा मोबिलिटी प्रदर्शनी ‘एचपी ल्युब्रिकेन्ट्स प्रिजेन्ट्स १८औं नाडा अटो शो २०२६’ को उद्घाटन भएको छ।
मंगलबार बिहान उपराष्ट्रपति रामसहाय प्रसाद यादवले काठमाडौंको भृकुटीमण्डपमा नाडा अटो शोको उद्घाटन गरेका हुन्।
आजदेखि सुरू भएको यो अटो शो भदौ १४ गतेसम्म हुनेछ। दुईपांग्रे, चारपांग्रे तथा व्यावसायिक सवारीसाधनका गरी ५३ ब्रान्डको सहभागिता रहेको छ। ती ब्रान्डले डेढ दर्जनभन्दा बढी नयाँ मोडल सार्वजनिक तथा प्रदर्शन गर्ने तयारी गरेका छन् ।
यसपटकको अटो शोको मुख्य आकर्षणमध्ये नेपालमै उत्पादन भएको विद्युतीय स्कुटर ‘यात्री पी–२’ पनि रहेको छ । नेपाली कम्पनीले उत्पादन गरेको सवारीसाधनलाई अन्तर्राष्ट्रिय ब्रान्डका सवारीसँगै एउटै प्रदर्शनीमा राखिनुले नेपाली अटोमोबाइल उद्योगको बदलिँदो अवस्थालाई समेत देखाउने आयोजकको भनाइ छ ।
नाडाले आफ्नो ५० औँ वर्ष पूरा गरेको अवसरमा आयोजना गरेको यसपटकको प्रदर्शनीमा विदेशी ब्रान्डका सवारी मात्र नभई नेपालमै उत्पादन वा एसेम्बल गरिएका सवारी तथा अटोमोबाइल सामग्रीलाई छुट्टै प्राथमिकता दिइएको छ ।
नाडाका अनुसार करिब आठ नेपाली उत्पादक यस क्षेत्रमा सहभागी छन् । त्यहाँ विद्युतीय मोटरसाइकल, अटोमोटिभ ब्याट्री, ल्युब्रिकेन्ट, हेल्मेटलगायतका सामग्री उत्पादन गर्ने नेपाली कम्पनीको सहभागिता छ । यात्रीसँगै एसियन वायरिङ, कोहिनुर प्लास्टिक इन्डस्ट्रिज, नेपाल ल्युब आयल र पूर्वाञ्चल ल्युब आयललगायतका नेपाली उत्पादकले आफ्नो उत्पादन प्रदर्शन गर्नेछन् ।
नाडाले नेपाली उत्पादनलाई छुट्टै स्थान दिएर प्रदर्शन गर्नुको उद्देश्य नेपालमा अटोमोबाइल क्षेत्रमा भइरहेको उत्पादन तथा औद्योगिक गतिविधिलाई उपभोक्तासम्म पुर्याउनु पनि रहेको जनाएको छ ।


