काठमाडौँ । सामाजिक अभियान र महिला सशक्तीकरणमा सक्रिय हुँदै राजनीतिमा प्रवेश गरेकी हुन् साजिदा सिद्धिकी । मुस्लिम समुदायकी चेली, घरबाहिर निस्कन कठिन थियो । तर दाङकी साजिदा सिद्धिकीले हिम्मत हारिनन् । १९ वर्षको उमेरमा उनले दाङमा पहिलो पटक मुस्लिम महिलाहरूलाई लक्षित गर्दै ’सिसा’ नामक सामाजिक संस्था गठन गरिन् । त्यसपछि उनको सुरु भयो सामाजिक यात्रा । स्थानीय स्तरमा सामाजिक कार्यबाट पहिचान बनाउँदै राष्ट्रिय राजनीतिमा प्रवेश गर्न सफल सिद्धिकीको संसदीय यात्राको बारेमा गरिएको यो कुराकानी
अहिलेसम्म संसद्को यात्रा कस्तो रह्यो ?
संसद्को यात्रा अलि जटिल अलि सजिलो, अलि जिकज्याक यस्तै रह्यो । संसद् भनेको अलि फरक कुरा हो । संसद् र सडक फरक छ । सडकमा रहँदा जानेर नजानेर बोल्यौँ होला तर संसद्मा जाँदा त्यो आवाजलाई बाहिर ल्याउँदा मिलाउन पर्छ । त्यसैले अनुभव राम्रै छ।
सडकमा कराउन सजिलो रहेछ की सदनमा ?
सडकमा नि त्यहाँ कुनै सीमा छैन बोल्नका लागि । सदन सम्मानित ठाउँ हो । त्यहाँ देश र जनताको भविष्य लेख्ने ठाउँ त हो । सदन मर्यादित ठाउँ हो । सदनमा अनुशासित भएर काम गर्नुपर्छ । तर कहिले टेबल ठोकाठोक चैँ हुन्छ ।
कानुन बनाउन कतिको गाह्रो रहेछ ?
कानुन बनाउन त्यति गाह्रो छैन । म त झन् यही सामाजिक क्षेत्रबाट आएको मान्छे गाह्रो भन्ने कुरा नै भएन । तर बनेका कानुनको रिजल्ट कस्तो आयो भन्ने हो । राम्रो आएको छ की छैन भन्ने कुरा हेर्नुपर्छ ।
कानुन बनाउन ढिला भयो रोकियो भन्ने सुन्छौ, किन ढिला हुने रहेछ ?
कानुन बनाउन ढिला नै हुन्छ । एउटा एउटा शब्दमा खेल्नुपर्छ । कानुन बनाउने भनेको हतार गरेर पनि हुँदैन ।
संसद्मा किन तपाई आक्रामक बन्नुहुन्छ ?
म स्वभावले नै यस्तै हो । यो देखावटी होइन । जब मनमा त्यो कुरा खेल्छ । दिमागमा तंरग आउँछ अनि त्यो आफै आउँछ । म आफै पनि रिसर्चर भएको हुँदा, थुप्रै शब्दमा खेल्ने भएको हुँदा । विषय आउने बित्तिकै मेरो दिमाखले क्याच गर्छ । अनि बोली हाल्छु ।
प्रधानमन्त्री संसद् आउनुपर्छ भनी संसद् अवरुद्ध गर्नुभएको थियो ? सभामुखले रुलिङ ।। पनि गर्नुभयो, प्रधानमन्त्री आउनुहुन्छ जस्तो लाग्या छ ?
प्रधानमन्त्रीको कुर्सी जोक होइन । प्रधानमन्त्रीको पोस्ट पनि हलुका होइन । प्रधानमन्त्रीको जुन गरिमा छ त्यो गरिमामा बसेर काम गर्नका लागि सदनको कुर्सीमा बसेर सम्बोधन गरेर देश र जनताप्रतिको दाइत्वमा जाने की नजाने ?
प्रधानमन्त्री जबाफदेहिता, पारदर्शिता, सहभागितामा जाने की नजाने ? जनताले पनि उहाँले बोल्नुपर्छ भनेर माग गरेकै छन् त ।
जनताले त बोल्ने भन्दा काम गर्ने नेता चाहिएको छ भन्छन् नि त ?
धेरै बोल्ने र नबोल्नेको विषय नै होइन । देशको प्रधानमन्त्री पहिला र्यापर, इन्जिनियर र अहिले प्रधानमन्त्री । के उहाँ पहिला र्यापर, इन्जिनियर हुँदा बोल्नु नै हुँदैन थ्यो ? यस्तो गलत कुराको भाष्य निर्माण गर्नु हुँदैन । प्रधानमन्त्रीको जबाफदेहितामा बसेर कति बोल्ने कति नबोल्ने त्यो फरक कुरा हो । तर सदनमा बसेर सम्बोधन गरेर जानुपर्छ । तर बोल्दै नबोली जाने भन्ने हुँदैन ।
यो सरकारले काम गरेको छ जस्तो लाग्छ ?
सरकारले काम गरेको भए हामीले टेबुल ठोकेका छौ त । काम गरेको भए टेबल ठोक्नुपर्छ । खबरदारी गर्नुपर्छ ।
त्यसो भए सरकारले केही गरेकै छैन ?
जनताको घरघरमा डोजर हानेर पेट खाली गरेर संविधान र नीतिको कुरा गरेर हुन्छ । आज चिट्ठामा रमाएको सरकार छ । बिल काटेको नाममा लाखौँ लाख खर्च गरिरहेको छ। स्वास्थ्य बीमालाई बिगारेर चिट्ठामा रमाएको छ । अनि यो सरकार जनताको हो ? सरकारलाई मेरो प्रश्न । आज बिरामी ज्येष्ठ नागरिक खोलामा हाम फालेर मर्नुपर्ने अवस्था छ । म त लज्जित छु सदनको त्यो कुर्सीमा बसेर उहाँलाई बचाउन सकिन् । गणेश भाइ जस्तो बाइक राइडरको समस्या बेलैमा समाधान भएको भए मर्न पर्ने थिएन । आज एयरर्पोटका लाइन्, ग्यासका लाइन हेर्नु त । अनि भन्नुहुन्छ ३० वर्षमा केही भएन । त्यही ३० वर्षमा भएको कुराले आज खेलिरहेका छौँ । आज खोलेको कपडा फ्याक्ट्रीको ढाँचा पनि ३० वर्षमै भएको हो ।
ढाँचा बनाए पनि सरकारले चलाउन सकेन बन्द गर्नुपर्यो ?
पहिलाको सरकार बहुमतको सरकार भएन। मिलेको सरकार भयो । एउटाले चाहँदा अर्कोले नो भन्यो होला । अहिलेको सरकार बहुमतको सरकार छ। दाइत्व उहाँको काँधमा छ । बन्द भएको सबै फ्याक्ट्री खोल्नुस् । सरकार व्यापारी त होइन । तर गर्नुस् भन्छु । देश ३० वर्षमा जति आको छ त्यो भन्दा १०० गुण बढी गर्नुस् । हाम्रो साथ छ । हामीले विरोध कहाँ गर्या छौँ । यो सरकारले १०० बुँदा ल्याएको होइन । विदेशको गल्ली गल्लीमा गएर हामीले युवा फर्काछौ, देश बनाउँछौ भन्नु भएको होइन रास्वपाका सभापतिले । उहाँले ल्याएको कुरा उहाँले पूरा गनुपर्छ । आज बालिकाहरू बलात्कृत भएका छन्, चोरी डकैती भएका छन्, व्यवसाय ठप्प छ, आय आर्जन छैन अनि उहाँहरूले नगरेर कसले गर्ने । उहाँहरू त जान्नेलाई छान्ने भनेर आएको सरकार हो । काम गर्नुस् न कसले छेकेको छ।
त्यसो भए अहिलेसम्म सरकारले काम गरेको पनि छैन, भिजन नि छैन त ?
सरकारले ल्याएको योजनाहरू आफै ढल्दै छ । यो सरकारको चार, पाँच महिने नाराले देशलाई जोखिममा हाल्न पाइन्छ । मधेसको घटनाको जबाफदेहिता को ? बालिका बलात्कृत भएकी छिन् त्यसको जबाफदेहिता को ? गणेश भाइले देहत्याग गरे त्यसको जबाफदेहिता को ? आमाबुबा हाम फल्नु भो त्यसको जबाफदेहिता को ? सरकार होइन खै के गरे । सरकारले के काम गर्यो । काम गर्न सरकारको भिजन चाहिन्छ। तर यो सरकारसँग त्यस्तो के भिजन छ ?
संसद्मा प्रतिपक्षको आकार सानो हुँदा हेपिएको जस्तो लाग्छ ?
अब त्यस्तो हेप्ने काम एमालेलाई कसैले नसोचे पनि हुन्छ । पहिला सम्माननीय सभामुख ज्युले त्यस्तै पारा ल्याउनु हुन्थ्यो । तर अहिले त्यस्तो छैन । ठिकै छ । के हेप्नु हुन्छ । जनताहरूले भोटको पावर नबुझेर बहुमत ल्याउनु भो ।
तपाईँका सरकारले काम गर्न नसकेपछि उहाँहरूले बहुमत ल्याउनु भो ?
त्यही भएर भोट फिर्ता लैजाऊ भन्नु भएको । एमालेले जहिले सत्ता हाँक्यो त्यो बेला काम गरेको छ । केपी शर्मा ओलीको पालाका काम हेर्नुस् । सडकदेखि सदनसम्म व्यवस्थापन थियो । अहिलेको सरकारको विरुद्धमा आफ्नै सांसद बोल्न थाल्नुभयो, कर्मचारी बोल्न थाल्नुभयो, जनता बोल्न थाले ।
संसद्मा तपाईँले बोलेका शब्दहरू होच्याउने खालका भए भन्दै विरोध गर्नुहुन्छ नि सत्तापक्षका सांसदले ?
त्यो त उहाँहरूको बुझाइमा कमी हो । चिट्ठामा सरकार रमाएको छ भनेको हो । अहिले अर्थमन्त्री चिट्ठामा पुरस्कार बाँडिरहनु भएको छ । त्यसलाई मैले चिट्ठामा रमाएको सरकार भनेको हुँ । तर रास्वपाका सांसदहरूले के बुझ्नु भो, उहाँले आपत्ति जनाउनु भो । यति सम्मका शब्दहरू रास्वपाका सांसदहरूले बुझ्नुहुन्न । शब्दहरू बुझ्नुपर्छ ।
संसद्मा बोल्ने विषय तपाईँहरूको पार्टीबाट निर्देशित हुन्छ रे नि हो ?
होइन, हाम्रो एमालेमा हुँदैन । सबै सांसदहरूले आफू आफै विषयमा अध्ययन गर्ने हो । विषय पनि आफैले छान्ने हो । कोहीबाट निर्देशित हुँदैन ।
तपाई आफै मुस्लिम समुदायको हुनुहुन्छ, अझै यो समुदायका लागि यस्तो गर्न पाए हुन्थ्यो भन्ने केही छ ?
२५ वर्ष अगाडिदेखि गुणस्तर शिक्षामा मैले आवाज उठाउँदै आइरहेको छु । अहिले यो समुदायको सुनिश्चितता, शान्ति कायम गर्ने कुराहरूमा सरकार नै लाग्नुपर्छ भन्ने छ ।


