काठमाडौँ । सरकारले वेबसाइट, एप्लिकेसन र सामाजिक सञ्जाल लगायतका विद्युतीय माध्यमबाट वस्तु तथा सेवाको व्यापार (ई-कमर्स) गर्ने व्यवसायीहरूले अब अनिवार्य रूपमा सूचीकृत हुन निर्देशन दिएको छ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक जरुरी सूचना जारी गर्दै सम्पूर्ण विद्युतीय व्यापार गर्ने व्यवसायीहरूलाई विभागको पोर्टलमा अनिवार्य सूचीकृत हुन निर्देशन दिएको हो ।
विभागले ‘विद्युतीय व्यापार (ई-कमर्स) ऐन, २०८१’ र ‘विद्युतीय व्यापार (ई-कमर्स) निर्देशिका, २०८२’ कार्यान्वयनमा आइसकेको स्मरण गराएको छ । ऐनको दफा ४ बमोजिम व्यवसाय गर्नुपूर्व विद्युतीय प्लेटफर्म स्थापना गर्नुपर्ने र दफा ५ बमोजिम विभागको पोर्टलमा अनिवार्य रूपमा सूचीकरण हुनुपर्ने कानुनी व्यवस्था रहेको सूचनामा उल्लेख छ ।
विभागका अनुसार कम्प्युटर, मोबाइल वा यस्तै विद्युतीय उपकरणको प्रयोग गरी वेबसाइट, एप्लिकेसन, सफ्टवेयर, इन्टरनेट र सामाजिक सञ्जालको मार्केटप्लेस लगायतका माध्यमबाट हुने सूचना सङ्कलन, सम्प्रेषण र वस्तु तथा सेवाको कारोबार ई(कमर्स अन्तर्गत पर्दछन् ।
विभागले तोकिएको प्रक्रिया पूरा गरी सूचीकृत भएर र प्रचलित कानुनको पूर्ण पालना गरेर मात्र व्यवसाय सञ्चालन गर्न सरोकारवालाहरूलाई आग्रह गरेको छ ।
यस सूचनाको बेवास्ता गरी सूचीकृत नभएका वा गैर-कानुनी विद्युतीय प्लेटफर्मबाट व्यवसाय सञ्चालन गरेको पाइएमा ‘विद्युतीय व्यापार ऐन, २०८१’ तथा अन्य प्रचलित कानुन बमोजिम कडा कानुनी कारबाही हुने चेतावनी समेत विभागले दिएको छ ।


