काठमाडौं । साविक विजेता अर्जेन्टिना फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ।
अमेरिकाको कान्सास सिटी स्टेडियममा आइतबार बिहान भएको अन्तिम क्वार्टरफाइनल खेलमा स्विट्जरल्यान्डलाई ३–१ ले पराजित गर्दै अर्जेन्टिना सातौँपटक विश्वकपको सेमिफाइनलमा पुगेको हो। निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा पुगेको थियो। अतिरिक्त समयमा अर्जेन्टिनाले दुई गोल थप्दै शानदार जित दर्ता गर्यो।
अर्जेन्टिनाका लागि एलेक्सिस म्याक एलिस्टरले पहिलो गोल गरे भने अतिरिक्त समयमा जुलियन आल्भारेज र लाउटारो मार्टिनेजले गोल गर्दै टोलीको जित सुनिश्चित गरे। स्विट्जरल्यान्डका लागि डान एन्डोयेले बराबरी गोल गरेका थिए।
यस जितसँगै अर्जेन्टिना लगातार दोस्रो विश्वकपको उपाधि जित्ने अभियानमा एक कदम नजिक पुगेको छ। अब सेमिफाइनलमा अर्जेन्टिनाले इंग्ल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ।


