१६ कात्तिक, काठमाडौं । अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नर तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न काठमाडौं आइपुगेका छन् ।
काठमाण्डु गोर्खाजमा अनुबन्धित वार्नर आइतबार साँझ काठमाडौं अवतरण गरेका हुन् । उनी आजै कर्णाली याक्सविरुद्ध हुने खेलमा मैदान उत्रिने सम्भावना रहेको छ ।
काठमाण्डु गोर्खाजले आज मध्याह्न साढे १२ बजे कर्णाली याक्ससँग प्रतिस्पर्धा गर्दैछ । प्रतियोगितामा अनुबन्ध भएका चर्चित विदेशी खेलाडीमध्ये एक वार्नरले एनपीएल खेल्न आफू उत्साहित रहेको बताएका छन् ।
३९ वर्षीय वार्नर अस्ट्रेलियाका सफल ब्याटरमध्ये एक हुन् । उनले अन्तर्राष्ट्रिय क्रिकेटका तीनवटै फर्म्याटमा गरी कुल १८ हजार ९९५ रन बनाएका छन् । जसमा टेस्टमा ८ हजार ७८६, एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मा ६ हजार ९३२ र टी–२० अन्तर्राष्ट्रियमा ३ हजार २७७ रन रहेका छन् ।
वार्नर अस्ट्रेलियाका लागि तीनवटै फर्म्याटमा शतक बनाउने खेलाडी हुन् । उनले सन् २०१९ मा पाकिस्तानविरुद्ध अविजित ३३५ रनको कीर्तिमानी इनिङ खेलेका थिए ।
यसअघि प्रतियोगिताको पहिलो खेलमा पराजित भएको काठमाण्डु गोर्खाजका लागि वार्नरको आगमन महत्वपूर्ण मानिएको छ । उनको उपस्थितिले टोलीको ब्याटिङ पक्ष थप बलियो हुने अपेक्षा गरिएको छ ।
डेभिड वार्नरको नेपाल आगमन, काठमाण्डु गोर्खाजबाट खेल्ने
डेभिड वार्नरको नेपाल आगमन, काठमाण्डु गोर्खाजबाट खेल्ने
तपाईको प्रतिक्रिया



