काठमाडौं । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको दोस्रो हाफको गोलको मद्दतमा फ्रान्सले मोरक्कोलाई २–० ले हराउँदै फिफा विश्वकप २०२६ को सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ।
बोस्टनमा शुक्रबार बिहान सम्पन्न क्वाटरफाइनलमा पहिलो हाफमा एमबाप्पेको पेनाल्टी मोरक्कोका गोलकिपर यासिन बोनोले रोकेका थिए। तर दोस्रो हाफमा एमबाप्पेले ६०औँ मिनेटमा गोल गर्दै फ्रान्सलाई अग्रता दिलाए। त्यसको केही मिनेटपछि डेम्बेलेले एमबाप्पेको पासलाई गोलमा परिणत गर्दै टोलीको जित सुनिश्चित गरे।
यससँगै सन् २०१८ को विश्व विजेता फ्रान्स लगातार तेस्रो पटक विश्वकपको सेमिफाइनलमा पुगेको छ। अब उसले फाइनल प्रवेशका लागि स्पेन र बेल्जियमबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।
हारसँगै मोरक्कोको अन्तर्राष्ट्रिय फुटबलमा लगातार ३४ खेलसम्म कायम रहेको अपराजित यात्रासमेत अन्त्य भएको छ। व्यक्तिगत प्रदर्शनतर्फ एमबाप्पेले प्रतियोगितामा आठौँ गोल गर्दै सर्वाधिक गोलकर्ताको दौडमा आफूलाई बलियो बनाएका छन्।


