काठमाडौं । प्रदेशगत रूपमा सांसदसँग भेट्न थालेका प्रधानमन्त्री बालेन्द्र शाहले तीन किसिमबाट समस्या राख्न अनुरोध गरेका छन् ।
कोशी प्रदेशका सांसदहरूसँग छलफल गर्ने क्रममा उनले शुरुमै भने, ‘एकदम छोटोमा, टू दी पोइन्ट कुरा राख्नुस् ।’
उनले तत्काल गरिहाल्नुपर्ने, बजेट आउनु अगाडिसम्ममा गर्दा हुने र बजेटमा व्यवस्था गरेर गर्नुपर्ने गरी तीन किसिमले आवश्यकताहरू प्रस्तुत गर्न भनेका थिए ।
तत्काल गरिहाल्नुपर्ने जरुरी कामका लागि आवश्यक पर्ने बजेट पनि मिलाउन सकिने, तर कामका लागि काम नभएर जनताले काम गरेको अनुभूति हुने खालका कामका विवरण उनले माग गरेका थिए ।
कतिपय जरुरी कामहरू आगामी आर्थिक वर्षको बजेटमा विनियोजन गरेर अगाडि बढाउन सकिने कारण प्रधानमन्त्री शाहले प्राथमिकताका आधारमा तीन किसिमका कामहरूको सूची मागेका छन् ।
सहभागी एक सांसदका अनुसार प्रायःले आवश्यकताहरू प्रस्तुत गरे । कतिपयले बुझेर रिपोर्ट दिने बताएका छन् ।

