काठमाडौं । महाधिवेशन चुनावअघि वा पछि भन्नेमा डेढ महिनादेखि अल्झिरहेको नेपाली कांग्रेस महाधिवेशनको मिति तोक्दै चर्किएको विवादलाई सकसपूर्ण रूपमा बैठान गरेको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पेस गरेको पुस २६ देखि २८ सम्म १५ औं महाधिवेशन गर्ने सम्बन्धी प्रस्तावलाई सोमबार बसेको केन्द्रीय समितिले सर्वसम्मत् पारित गरेको छ ।चुनावअघि महाधिवेशन गर्नै नहुने अड्डी कसिरहेका संस्थापन पक्षका नेताहरू पुसभित्रको कार्यतालिकामा सहमत बनेका छन् ।
सभापति शेरबहादुर देउवा सिंगापुरबाट फर्कनुअघि चुनावअघि महाधिवेशन गर्नै नहुने अडान राख्ने नेताहरू समेत अन्तत: नियमितको पक्षमा उभिएका छन् ।
कांग्रेस पदाधिकारी बैठक, केन्द्रीय समिति बैठक एवं केन्द्रीय समिति रोकेर भइरहेका शीर्ष नेताको बैठकमा महामन्त्री गगन थापाले नियमित महाधिवेशन गर्न सकिने विकल्पसहित प्रस्ताव राख्दा देउवा पक्षका नेताहरू तयार भएका थिएनन् ।
महामन्त्री थापाले केन्द्रीय समितिमा १६ देखि १९ पुससम्म नियमित महाधिवेशनको कार्यतालिका प्रस्ताव गरेका थिए । सोमबार पारित भएको नियमित महाधिवेशनको मिति महामन्त्री थापाले प्रस्ताव गरेको भन्दा १० दिनपछि हुने गरी तय गरिएको छ ।
नेता प्रदीप पौडेल केन्द्रीय समिति बैठक लम्ब्याएर डेढ महिना विवादमा समय खेर फालिएको बताउँछन् । तालिका बनाएर अघि बढे महाधिवेशन सम्भव हुने र बैठक लामो नचलाऔं भने पनि सुनवाइ नभएको सुनाए ।
‘बाँकी अवधिमा महाधिवेशन गर्न सकिन्छ भनेर प्रस्ताव लगेको थिएँ,’ नेता पौडेल भन्छन्, ‘तर यसलाई गम्भीर रूपमा लिन नसक्दा डेढ महिना अनावश्यक समय खेर फालियो ।’

