नेपाली कांग्रेसका महामन्त्री गगन थापाले फागुन २१ गतेलाई तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचन अघि कुनै पनि हालतमा नेपाली कांग्रेसको महाधिवेशन गर्नुपर्ने बताएका छन् । यसको कुनै विकल्प नै नरहेको उनको भनाइ छ ।
उनले महाधिवेशनबारे आउँदो ११ गते बस्ने केन्द्रीय समिति बैठकले निर्णय गर्ने समेत बताए । उनले निर्वाचनअघि महाधिवेशन अनिवार्य गर्नैपर्ने र त्यसका लागि दुई वटा बाटो मात्र रहेको समेत उल्लेख गरे ।
थापाले कि त पुस मसान्तभित्र नियमित महाधिवेशन (१५ औं महाधिवेशन) गर्ने निर्णय गर्नुपर्ने कि त मंसिर मसान्तभित्र (मंसिर २७-२८ मा) विशेष महाधिवेशन गर्नुपर्ने बताए ।
‘हाम्रो समयावधि भनेको अब १५/२० दिनमा सकिन्छ । यो अवधि हामी थप्न सक्दैनौं । समय झन् झन् च्याप्दै गएको छ। त्यसपछि हामीसँग एउटा अर्को विकल्प छ र त्यो निर्विकल्प छ । अबको उत्तम बाटो के हो भने मंसिर २७-२८ गते नेपाली कांग्रेसको विशेष अधिवेशन गर्ने ।
अहिलेको परिस्थितिमा शान्तिको राजनीतिको नेतृत्व गर्ने’, शनिबारको केन्द्रीय समिति बैठकपछि थापाले भने, ‘अहिले एउटा दलले उत्तेजनाको राजनीतिको नेतृत्व गरिरहेको छ । शान्तिको राजनीतिको नेतृत्व नेपाली कांग्रेसले गर्नका निम्ति नयाँ नेतृत्व चाहिन्छ । त्यो ल्याउनका लागि मंसिर २७-२८ गते विशेष अधिवेशन नै सर्वोत्तम मात्र होइन मेरो हिसाबमा निर्विकल्प देख्छु । कि हामीले पुसको मसान्तभित्र आवधिक अधिवेशन गर्न सक्नुपर्यो ।
होइन भने मंसिर मसान्तभित्र विशेष महाधिवेशन गर्नुको विकल्प छैन । त्यो वातावरण बन्दै गएको छ ।’ थापाले अब अधिवेशन कार्यतालिका नभएर अधिवेशन नै चाहिएको पनि बताए । ‘यहाँ कसैले कार्यतालिका खोजेको होइन अधिवेशन खोजेको हो ।
पुसभित्र आवधिक वा मंसिरभित्र विशेष महाधिवेशन बाहेक अर्को कुनै निर्णय गर्ने ठाउँ हामीसँग छैन । पर्सिको बैठकले (मंसिर ११ गतेको बैठक) जे निर्णय गर्छ त्यो निर्णयका आधारमा हामी अधिवेशनको कुरा टुंग्याउँछौं’, थापाले भने ।

