नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टीलाई जिस्क्याउने काम नगर्न आग्रह गरेका छन् ।
शनिबार एमालेले काठमाडौंमा आयोजना गरेको जनसभामा ओलीले कसैको नाम नलिई यो भन्दा बढी गर्नु कसैको हितमा नहुने बताएका हुन् । उनको आशय नेपालमा भइरहेको बाह्य चलखेलप्रति लक्षित थियो ।
‘अरूपक्षलाई पनि म भन्न चाहन्छु– एमालेलाई उत्तेजित बनाउने काम नगर्नुस्, जिस्क्याउने काम नगर्नुस्, तपाईंहरू लोकतन्त्रलाई यो भन्दा बढी आक्रमण गर्न सकिन्छ भन्ने भ्रम नपाल्नुस्,’ ओलीले भने, ‘जे गर्नुभयो, यो भन्दा बढी अगाडि बढ्नु तपाईंहरूका लागि पनि हितकर हुने छैन । म सचेत गराउन चाहन्छु ।’
ओलीले राजनीतिक संकट समाधानको विकल्प प्रतिनिधिसभा मात्र रहेको भन्दै मिलेर जान दलहरूसँग आग्रह गरे ।
प्रतिनिधिसभा पुनःस्थापनाको पक्षमा जनमत सृजना गर्न भन्दै एमालेले काठमाडौंमा सभा आयोजना गरेको थियो ।

