काठमाडौं। गृहमन्त्री रमेश लेखकले कर्मचारीमाथि अख्तियारले छानबिन गर्दैमा मन्त्रीले राजीनामा दिएको उदाहरण नभएको बताएका छन् ।
जारी पत्रकार सम्मेलनमा गृहमन्त्री लेखकले पछिल्ला तीन आर्थिक वर्षमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दर्ता भएका उजुरीहरूको तथ्यांक प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।
पछिल्लो तीन आर्थिक वर्षमा अख्तियारमा ६४ हजार ६१ वटा उजुरी दर्ता भएका छन् । सम्पूर्ण उजुरी कुनै न कुनै मन्त्रालय, विभाग वा कार्यालयका राष्ट्रसेवक कर्मचारी वा सार्वजनिक पद धारण गरेका पदाधिकारीमाथि हुन्छन् । तिमाथि छानबिन गर्ने र अख्तियारले मुद्दा दर्ता गर्ने काम गरिरहेको छ,’ उनले भने, ‘कर्मचारीमाथि छानबिन हुँदैमा अहिलेसम्म कति मन्त्रीले राजीनामा दिए होलान्, तपाईंहरू आफैं विवेचना गर्नुहोला ।’
गृहमन्त्री लेखकले तीन आर्थिक वर्षको अवधिमा गृह मन्त्रालयको नेतृत्व विभिन्न तीनजना माननीयले गरेको भन्दै त्यसअवधिमा परेका उजुरीमाथि अख्तियारले छानबिन गर्दा कुनै पनि गृहमन्त्रीले राजीनामा नदिएको बताए ।