काठमाडौं। नेपाली कांग्रेसले राजसंस्थाबारे सभापति शेरबहादुर देउवाले नबोलेको र नसोचेको कुरालाई प्रचारमा ल्याएको भन्दै घोर आपत्ति जनाएको छ।
मुख्यसचिव कृष्णप्रसाद पौडेलले बिहीबार विज्ञप्ति निकालेर’कसैले क्षणिक स्वार्थ पूर्ति गर्न राजसंस्थाबारे उहाँको धारणा भनि सञ्चारमाध्यममा गलत सूचना संप्रेषण गर्नु अनैतिक र घोर आपत्तिजनक कार्य हो’भन्ने उल्लेख गरेका छन्।
‘सभापतिले कहीँ नबोलेको,नभनेको र नसोचेको कुरालाई मनगढन्ते ढंगले आम सञ्चारको माध्यमलाई दुरूपयोग गर्दै प्रचारमा ल्याउनु पत्रकारिताको मर्म र भावना विपरीत हो। जो सुकैले यस्तो कार्य गरेको भएता पनि यस्ता भ्रामक र कपोलकल्पित समाचारको नेपाली कांग्रेस घोर निन्दा र भर्त्सना गर्दछ,’ मुख्यसचिव पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
देउवाको धारणा भनी राजसंस्थाका बारे प्रकाशित भएको खबर भ्रामक र कपोलकल्पित भएको पनि उल्लेख छ।