राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीभित्र अवसरभन्दा निष्ठा, पदभन्दा प्रतिबद्धता र व्यक्तिगत स्वार्थभन्दा संगठनलाई प्राथमिकता दिन आग्रह गरेका छन् ।
चितवनमा आयोजित पार्टी कार्यक्रममा बोल्दै उनले जनताले दिएको १८२ सिटको जनमतलाई अहंकारका रूपमा नभई थप जिम्मेवारीका रूपमा लिनुपर्ने बताए । शक्ति पाएपछि मात्तिने र जनतालाई हेप्ने प्रवृत्ति स्वीकार्य नहुने उनको भनाइ थियो ।
लामिछानेले पार्टीका नेता तथा कार्यकर्तालाई भुइँ नछोड्न चेतावनी दिँदै प्रहरी र प्रशासनमाथि राजनीतिक दबाब नदिन पनि आग्रह गरे । उनले सांसद बनेका साथीहरूलाई सम्मान गर्न र संगठनमा सँगै संघर्ष गरेका कार्यकर्तालाई बेवास्ता नगर्न सुझाव दिए ।
पार्टीभित्र वडादेखि माथिल्लो तहसम्मका पदमा आकांक्षा राख्ने तर तल्लो तहमा काम गर्न नचाहने प्रवृत्तिप्रति पनि उनले असन्तुष्टि जनाए । निष्ठामा अडिन नसक्ने व्यक्ति राजनीतिमा लाग्न नहुने उल्लेख गर्दै उनले चुनाव जित्नु मात्रै राजनीति नभएको बताए ।
उनले टिकट वितरणका लागि पार्टीले अपनाएको ‘क्यान्डिडेट क्लब’ विधि पारदर्शी र विधिसम्मत रहेको दाबी गर्दै आन्तरिक प्रतिस्पर्धामा पराजित हुँदैमा पार्टीलाई धोका दिन नहुने बताए । आफूले टिकट नपाए पनि पार्टीकै उम्मेदवारलाई जिताउन लाग्नुपर्ने उनको आग्रह थियो ।
लामिछानेले राजनीति एउटा चुनावका लागि नभई पुस्ताको भविष्यका लागि गर्नुपर्ने भन्दै पार्टीभित्र एकता, अनुशासन र समर्पण कायम राख्न कार्यकर्तालाई आग्रह गरे ।



